१२ बैशाख २०८१, बुधबार

भारतको अयोध्या हुँदै साढे २३ किलाे सुन कञ्चनपुर पुगेको खुलासा



धनगढी। कञ्चनपुरमा प्रहरीले बरामद गरेको साढे २३ किलोग्राम सुन म्यानमारबाट भारतको अयोध्या हुँदै कञ्चनपुर पुगेको खुलासा भएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो, अपराध महाशाखा, कञ्चनपुर प्रहरीको टोलीले बिहीबार कञ्चनपुरको पुनर्वासबाट १८ किलोग्राम सुन र शुक्रबार बिहान कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका–११ झलारीबाट ५ किलो ६ सय ग्राम सुन बरामद गरेको थियो । सुन प्रकरणमा प्रहरीले बिहीबार नै सादा पोशाकका प्रहरी र उनका भाइलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा कैलालीमा कार्यरत प्रहरी जवान सुरज तिरुवा र उनका भाइ लक्ष्मण तिरुवा रहेका छन् । लक्ष्मणले नै त्यो सुन भारतबाट रुपन्देहीको सुनौली नाका हुँदै कैलाली पु/रयाएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरी उच्च स्रोतका अनुसार पक्राउ परेका लक्ष्मणले प्रहरीसँगको बयानमा सुन म्यानमारबाट तस्करी गरेर ल्याएको बताएका छन् ।

लक्ष्मणले प्रहरीलाई दिएको बयानअनुसार उनी भारतीय व्यापारीको गाडी चालक थिए । म्यानमारबाट अयोध्या ल्याइएको सुन त्यहाँको एक होटलमा राखिएको थियो । होटलमा भारतीय व्यापारी र म्यानमारबाट सुन ल्याउने टोली मदिरा खाएर सुतेपछि गाडी चालक रहेका लक्ष्मणले गाडी लिएर नेपालतर्फ लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लक्ष्मणले प्रहरीलाई दिएको बयान उद्धृत गर्दै प्रहरी उच्च स्रोतले भन्यो, “म्यानमारबाट भारतीय सुन तस्करले सुन  अयोध्या ल्याएका रहेछन् । अयोध्याको एक होटलमा भारतीय सुन तस्कर र म्यानमारको टोली मदिरा खाएर सुतेपछि लक्ष्मणले गाडी नेपाल ल्याएको देखिन्छ ।”

प्रहरी स्रोतका अनुसार भारतीय व्यापारी दिल्ली मुम्बई लगायतका सहरमा तस्करीको सुन बेच्दै आएका थिए । लक्ष्मण भारतीय सुन तस्करको चालकको रुपमा विगत ४ महिनादेखि कार्यरत रहेको अनुसन्धानबाट खुलेको छ ।

बरामद भएको सुनमा म्यानमारकै भाषा लेखिएको प्रहरी स्रोतले जानकारी दियो ।

सुनका मालिक भारतको नयाँ दिल्लीमा बस्दै आएको र उनले पछिल्लो ४ महिनामा मात्रै म्यानमारबाट १४ पटकभन्दा बढी सुन ओसारेको लक्ष्मणले बयान दिएको स्रोतले बतायो । लक्ष्मणले सुन नेपाल ल्याएपछि गाडी कैलालीमा छाडेर फरार भएका थिए ।

पछि भारतीय नागरिक आएर कैलाली भन्सार कार्यालयबाट गाडी लिएर  गएपनि उनले सुनबारे जानकारी प्रहरीलाई गराएका थिएनन् ।

सुन बेच्ने र सुनबारे जानकारी भएकालाई मिलाउने विषयमा विवाद हुँदा सुनको सूचना चुहिएको थियो । पक्राउ परेको सुन र दुवैलाई प्रहरीले राजश्व अनुसन्धान विभाग कोहलपुर पठाइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

सीआईबीले काठमाडौं बाहिर झण्डै २४ किलो सुन समातिएको पहिलो घटना भएको दाबी गरेको छ ।

२४ किलो सुनकाण्डमा भारतीय व्यापारीको संलग्नताको चर्चा चलेपछि भारतीय सुरक्षा अधिकारीले चासो व्यक्त गरेका छन् ।

एक अधिकारीले भने, “भारतले हिजोबाटै चासो दिएको छ । उसले पनि भारतीय नागरिकको विवरण खोजिरहेको छ । नेपालमा मात्रै होइन यसले भारतमा पनि चासो बढाएको छ ।’’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार