१३ बैशाख २०८१, बिहीबार

चलचित्र लेखनमा व्यस्त विवेक



धनगढी । सुदूरपश्चिम प्रदेश क्रिकेट खेलाडी जन्माउने थलो मात्रै होइन । रंगकर्मी जन्माउने क्षेत्र पनि हो । बिराज भट्ट, सुमन सिंह, ऋचा शर्मा जस्ता चर्चित हस्ती जन्माएको यो क्षेत्रले पछिल्लो पटक दीपिका प्रसाई, सुशील सिटौला, विवेक पाण्डे जस्ता कलाकारहरू दिएको छ । स्थायी घर धनगढी भई काठमाडौंमा बस्दै आएका विवेक पछिल्लो आधा दशकदेखि चलचित्र क्षेत्रमा सक्रिय छन् । अमेरिका बोइजबाट रजतपटमा डेब्यू गरेका पाण्डे हाल चलचित्र ‘लप्पन छप्पन २’ को लेखनीमा व्यस्त छन् । “मलाई लेखन सबै भन्दा बढी मन पर्छ,” पाण्डेले भने, “त्यसमा पनि चलचित्र लेखनी मेरो रुचि र पेशा हो ।”
बिगत ६ वर्षदेखि नेपाली चलचित्र लेखनमा सक्रिय पाण्डेको पहिलो फिल्म अमेरिका बोइज हो । ओस्कार कलेज अफ फिल्म स्टडिजबाट लेखन र डाइरेक्सनमा व्याचलर पास गरेका उनी यतिबेला चलचित्र लेखनमा व्यस्त छन् ।
उसो त विभिन्न म्युजिक भिडियोमा समेत डाइरेक्सन गरिसकेका पाण्डे आफूलाई लेखनमा नै स्थापित गराउने सोच राख्दछन् ।
हाल उनी चलचित्र लप्पन छप्पन २ को लेखनमा व्यस्त छन् । चैत्र महिनाबाट सुटिङमा जाने भनिएको चलचित्रको लेखन अन्तिम चरणमा रहेको उनी बताउँछन् ।
“ओस्कार कलेज अफ फिल्म फिल्म स्टडिजमा पढ्थे । प्रथम वर्ष पढ्दाबाटै स्टोरी बनाउनमा लागे । तीस ओटा सिन मैले तीन वर्षमा लेखे” पाण्डेले सुनाए ।
अमेरिका बोइज लेखिसकेपछि लेखन शैलीको तारिफ पाएका पाण्डेले लप्पन छप्पनमा थप मेहेनत गरिरहेको बताए ।
पण्डेयको आफ्नै लेखेको फिल्म बनाउने चाहना छ । उनी भन्छन्– “एउटा ‘एनिमेटेड सब्जेक्ट’ छ भार वर्षपछि त्यो फिल्म आफै निर्देशन गर्छु ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार