१५ चैत्र २०८०, बिहीबार

नदीमा क्रसर सञ्चालन बन्द: कम्पनीले बुझायो, अपुरो कागजपत्र



धनगढी । निर्माणाधीन मोहनापुल–अत्तरिया छ लेन सडक आयोजनाको ठेक्का पाएको शर्मा अमर नागार्जुन (जेभी) ले जिल्ला समन्वय समिति कैलालीलाई गोदावरी खोलामा क्रसर सञ्चालन बारे अपुरै कागजपत्र बुझाएको छ ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ महरा टोल, गोदावरी खोला किनारमा सञ्चालनमा रहेको घुम्ती क्रसर बारेको आवश्यक कागजपत्र पुर्ण रुपमा नबुझाएको जिल्ला समन्वय समिति, कैलालीले जनाएको छ ।
कम्पनीले आयोजनाले गोदावरी नगरपालिकालाई पठाएको पत्र, सामुदायिक वनसंग भएको सम्झौता, गोदावरी नगरपालिकाले दिएको स्विकृत कागजपत्र मात्र पेस गरेको जिल्ला समन्वय समितिका निमित्त समन्वय अधिकारी योगेन्द्रप्रसाद ओझाले जानकारी दिए । उनले कम्पनीसंग थप कागजपत्र माग गरिएको बताए । ‘हामीले आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन गरेको कागजपत्र, नगरपालिकासंग क्रसर राख्न लिइएको लगायतका अन्य आवश्यक कागजपत्र माग गरेका छौं’ समन्वय अधिकारी ओझाले भने ।
उनले अहिलेसम्म बुझाएको कागजपत्रका आधारमा घुम्ती क्रसर नियमसम्मत रुपमा सञ्चालन नभएको पाइएको बताए । ओझाले भने– नगरपालिकाले क्रसर राख्नका लागि अनुमति दिएको देखिदैन । नगरपालिकाले कार्तिक १२ गते लेखेको पत्रमा स्काभेटर र भ्याकुलोडर प्रयोग गर्न पाउने र फागुन महिनासम्म २५ हजार घनमिटर ग्राभेलमात्र उत्खनन् गर्न पाउने उल्लेख छ । सो पत्रमा नदीको दुई मिटरसम्ममात्र र वातावरणीय प्रभाव मूल्यांकन भएको क्षेत्रमा उत्खनन गर्न पाउने उल्लेख छ । कम्पनीले एकता सामुदायिक वनसंग घुम्ती क्रसर राख्नका लागि सम्झौता गरेको सम्झौता पत्र मात्र बुझाएको छ ।
निमित्त जिल्ला समन्वय अधिकारी ओझाले भने– अहिले सो क्षेत्रमा घुम्ती क्रसरको सम्पूर्ण काम रोकिएको छ । ढुङ्गा, बालुवा, गिट्टी उत्खन्न, संकलन तथा घाटगद्दी समितिको बैठकपछि यसको निर्णय हुने छ । उनले समितिको बैठकको निर्णयपछि चल्न दिने वा नदिने भन्नेबारे थाहा हुने बताए ।
यसअघि कम्पनीसंग जिल्ला समन्वय समितिले कागजपत्र माग गर्दा एक हप्तासम्म पनि बुझाउन मानेको थिएन । समितिले प्रहरीको सहयोगबाट घुम्ती क्रसरको काम रोकेपछि सोही दिन अधुरो कागजपत्र बुझाइएको थियो । प्रहरीले आईतबार नदीमा क्रसर चलाउने व्यक्तीहरुलाई नियन्त्रणमा लिएको थियो । ईलाका प्रहरी मालाखेतीका प्रहरी नायव निरिक्षक बिनोद जोशीले क्रसर मेसिन चलाउने दुई जना चालक र तीन जना अन्यलाई नियन्त्रणमा लिएको थियो । विभिन्न सञ्चार माध्यममा ‘अनुमतिबिनै क्रसर उद्योग सञ्चालन’ शिर्षकका समाचार प्रकाशित भएपछि जिल्ला समन्वय समिति, कैलालीले सो कम्पनीलाई सम्झौतापत्रसहित अन्य आवश्यक कागजपत्र बुझाउन गत २० गते पत्राचार गरेको थियो ।
कम्पनीका सञ्चालक ईश्वरी भट्टले आफुले नियमसंगत घुम्ती क्रसर सञ्चालन गरिरहेको दाबी गरे । यस दैनिकसंगको कुराकानीमा उनले भने ‘म नियमसंगत छु । केही व्यक्तिहरुले पावरका भरमा मलाई दुःख दिने काम गरेका छन् । केही छैन । एक दुइ दिनमै पुनः घुम्ती क्रसर सोही ठाउ“मा सुरु गर्छु ।’
कम्पनीले बुझाएको कागजपत्र चित्त बुझ्दो नभएकाले यहि अवस्थामा सञ्चालन गर्न नमिल्ने जिसस प्रमुख सूर्यबहादुर थापाले बताए । ‘या त प्रक्रिया पुरा गर्नुप¥यो । यहि अवस्थामा भने त्यहा राख्न पाईदैन्’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार