७ बैशाख २०८१, शुक्रबार

सम्पादकीय: क्रिकेट पर्व शुरु



बहुप्रतिक्षित रस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करण धनगढीमा शुरु भइसकेको छ । नेपालमा व्यवसायिक क्रिकेट विकासको मिलको पत्थरका रुपमा स्थापित भइसकेको डीपीएलको हरेक संस्करणले नेपाली क्रिकेटले नया“ उचाईं लिदै गएको छ । डीपीएलको चर्चा हुदा नेपाली क्रिकेटको व्यवसायिक विकासको चरणको चर्चा हुन्छ । बोलकबोल वा लिलामी (अक्सन) का माध्यमबाट छनोट भएका खेलाडी रहेको टिमको चर्चा हुन्छ । त्यस्तै, चर्चा हुन्छ– फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान (निर्माणाधीन) को । चर्चा यत्तिमै सकिदैन । अब आएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) बाट डीपीएललाई मान्यता प्राप्त भएको गौरब पनि डीपीएलसंग जोडिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण तथा अनलाइन लाइभ अपटेडको प्रसंग पनि जोडिएको छ र समग्रमा धनगढीले राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा गौरब गर्न लायक परिचय पाउदै गएको छ– क्रिकेटको शहर धनगढी । नेपाल क्रिकेट संघ (क्यान) मा लामो समयदेखिको विवादका कारण नेपाली क्रिकेट प्रभावित भइरहेको सन्दर्भमा डीपीएल जस्ता आकर्षक तथा व्यवसायिक क्रिकेट प्रतियोगिताको आयोजनाले निश्चित रुपमा त्यस्ता कमी पुरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । डीपीएलको आयोजनासंगै देशका विभिन्न जिल्ला, स्थानमा ठूल्ठूला क्रिकेट प्रतियोगिता सञ्चालनले नेपाली क्रिकेटको द्रुत विकासमा महत्वपूर्ण योगदान पुगिरहेको छ । त्यसैले डीपीएलको चर्चा हुदा धनगढडी क्रिकेट एकेडेमीको चर्चा हुन्छ नै ।
डीपीएल धनगढी वा सुदूरपश्चिमको मात्रै होइन, मुलुककै क्रिकेट महोत्सवका रुपमा स्थापित भइसकेको छ । र, आउदा केही वर्षभित्रै डीपीएल विश्वभरी नै प्रतिक्षाको प्रतियोगितामा स्थापित हुनेमा शंका रहदैन । यो प्रतियोगिताले नेपाली क्रिकेटको व्यवसायिक विकास र विस्तारमा पु¥याइरहेको योगदानको चर्चासंगै धनगढीमा क्रिकेट पर्यटनको विकासका सम्भावना खोलेको छ । कुनै वेला ड्रिम फाप्लाका रुपमा अघि बढेको धनगढीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणको दबावमुलक अभियान अहिले साकार हुने चरणमा आइपुगेको छ । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा अहिले संघीय, प्रदेश तथा स्थानीय सरकार सहमत भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले फाप्ला क्रिकेट मैदान निर्माणलाई “प्रदेश गौरवको आयोजना” का रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरिसकेको छ । तर, यत्तिले मात्रै धनगढीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणको सपना चाढै साकार हुन्छ भन्न सकिदैन । काठमाडौं मुलपानीमा क्रिकेट मैदान निर्माण हुन लागेको वर्षौै भइसकेको सन्दर्भमा फाप्ला क्रिकेट मैदान निर्माणलाई राष्ट्रिय गौरबको आयोजनाका रुपमा नै अघि बढाइनु आवश्यक हुन्छ । यसका साथै सार्वजनिक, निजी साझेदारीका आधारमा फाप्ला क्रिकेट मैदान निर्माण तथा व्यवस्थापन र सञ्चालन गर्नेतर्फ पनि अहिलेदेखि नै ठोस योजनासहित कार्य अघि बढाइनु जरुरी छ ।
नेपाली क्रिकेटको स्मरण गर्न लायक पर्व वा महोत्सवका रुपमा रहेको डीपीएलको तेस्रो संकरणलाई अझैं भव्य रुपमा सफल बनाउन हरेकको दायित्व पनि हो । किनकि डीपीएल धनगढीको विशिष्ट परिचयका रुपमा स्थापित भइसकेको छ । र, यो यस क्षेत्रकै आर्थिक समृद्धिको एउटा महत्वपूर्ण आधार बन्ने प्रचुर सम्भावना छ । त्यसैले यसलाई वास्तव मै क्रिकेट महोत्सवका रुपमा ग्रहण गरेर धनगढीबासीले यसको भव्य सफलताका लागि आआफ्नो स्थानबाट योगदान पु¥याउन अग्रसर हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार