१६ चैत्र २०८०, शुक्रबार

मेयर कपमा विरेन्द्र र उपमेयर कपमा खड्ग विजयी



टीकापुर । टीकापुर नगरपालिकाको आयोजनामा भएको दोस्रो मेयरकपको उपाधि बीरेन्द्र विद्यामन्दिर माविले जितेको छ भने प्रथम उपमेयर कपको उपाधी खड्ग स्मृति मावि टीकापुरले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा माउण्ट सैपाल एकाडेमीलाई ६–५ ले पराजित गर्दै विरेन्द्र विद्यामन्दिरले उपाधी जितेको छ । कर्णाली मावि टीकापुरलाई पराजित गर्दै खड्ग स्मृति मावि टीकापुरले उपमेयर कपको उपाधि जितेको हो ।
प्रतियोगितामा उपमेयर कपमा पब्लिक स्कुल टीकापुर र मेयर कपमा सन्तनिरंकारी मण्डलले तेस्रो स्थान हासिल गरेका छन् । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई ५१ हजार नगद सहित मेडल र शिल्ड प्रदान गरिएको छ भने दोस्रो हुनेलाई नगद ३१ हजार मेडल र शिल्ड प्रदान गरेको छ । तेस्रो हुनेलाई १५ हजार नगद, शिल्ड र मेडल प्रदान गरिएको छ । मार्च पासमा प्रथम स्थान हासिल गरेको नोवेल पब्लिक स्कुललाई नगद ५ हजार प्रदान गरिएको छ ।

कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका राष्ट्रिय प्रशिक्षक जगत टमट्टालाई ५१ हजार नगद सहित सम्मान गरिएको छ । खेलमा उत्कृष्ट खेलाडीको रुपमा अर्चना तिवारी, कुहिनुर आले र उदयमान खेलाडी सिंहमान आलेलाई फुटबल सुज प्रदान गरिएको छ । प्रदेश सांसद उमादेवी बादीलाई पनि ताम्रपत्रले सम्मान गरिएको छ ।
मेयरकप छात्र तथा उपमेयरकप छात्रा फुटबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. रणबहादुर रावलले खेलकुद मानिसको जीवनको अभिन्न अंग भएको बताए । प्रदेश सभा सदस्य उमादेवी वादीले खेलाडीहरुलाई खेल हार जितका लागि मात्र नभई खेल सिकाईका रुपमा लिन आग्रह गरिन् ।


कार्यक्रममा टीकापुर नगरपालिका प्रमुख तपेन्द्र बहादुर रावलले विद्यालयस्तरमै राम्रा र क्षमतावान खेलाडी पाइने भएकोले खेलाडी उत्पादनमा सघाउने उद्देश्यले फुटबल प्रतियोगिता आयोजना गरेको बताए ।
समापन कार्यक्रममा पूर्व राज्यमन्त्री चन्द्रसिंह भट्टराई, पूर्व मेयर रत्नप्रसाद संज्याल, नेपाली कांग्रेसका नगर सभापति धनराज उपाध्याय, राष्ट्रिय प्रशिक्ष्ँक जगत टमट्टा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत उपमेयर केशरी रावल विष्टले गरिन् भने सञ्चालन नगरपालिकाका प्रवक्ता दीर्घबहादुर ठकुल्लाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार