७ बैशाख २०८१, शुक्रबार

प्रदेशमा सभामा किसानको समस्या



धनगढी । सुदूरपश्चिम प्रदेश सभामा किसानको समस्थाले स्थान पाएको छ । प्रदेश सांसद्हरुले सभाको बिहिबारको बैठकमा शुन्य समय लिएर किसानको समस्या उठाएका हुन् । उनीहरुले किसानको समस्या समाधानका लागि प्रदेश सरकारले काम गर्नुपर्ने माग गरेका छन् ।

नेकपाका प्रदेश सांसद महेशदत्त जोशीले नागरिकले सरकारले किसानलाई मल र बीउ समेत दिने व्यवस्था गर्नुपर्ने माग गरे । मौषमले बाली सप्रिएपनि मलको अभावमा राम्रो उत्पादन बाली नहुने देखिएको बताए । उनले विद्युतको मिटर नपाए बैतडीका किसानले सिंचाई सुविधा प्रयोग गर्न नसकेको भन्दै प्रदेश सरकारले तत्काल ति किसानका लागि विद्युत मिटरको व्यवस्था गर्नुपर्ने माग गरे ।
नेकपाकै सांसद् शान्ति नेपालीले भारतबाट आयातित तरकारीले गर्दा नेपाली किसानले उत्पादन गरेको तरकारीले बजार मुल्य नपाएको बताइन् । उनले भारतबाट आयात गर्ने कृषि उत्पादनमा कर कम रहेको र स्थानीय उत्पादनमा कर बढि रहेको बताउँदै स्थानीय उत्पादनमा कर घटाउन र आयात रोक्न आयात हुने कृषि उत्पादनमा कर बढाउनुपर्ने माग गरिन् ।
नेकपाकै सांसद् सुशीला बुढाथोकीले स्थानीय सरकारले गाईगोरु नियन्त्रण गर्न नसक्दा किसानहरु आजित भएको बताइन् । उनले छाडा गाईगोरु नियन्त्रण तथा व्यवस्थापनका लागि स्थानीय सरकारलाई प्रदेश सरकारले समेत सहयोग गर्नुपर्ने देखिएको बताइन् । उनले किसानले उत्पादन गरेको बाली छाडा गाईगोरुले नोक्सान गरेको भरपाई सरकारले किसानलाई दिनुपर्ने बताए । उनले धनगढी उपमहानगरपालिकामा छाडा गाईगोरु समस्या सबै भन्दा बढि रहेको बताइन् ।

नेकपाकै सांसद् हर्कबहादुर कुँवरले बाढी, पहिरो, असिनाले किसानको बाली र पशुचौपाया नष्ट भएको भन्दै उनीहरुलाई राहत दिन माग गरे । सरकारले किसानलाई तत्काल मल बीउ उपलब्ध गराउनुपर्ने माग गर्दै सांसद् कुँवरले छाडा गाईगोरु समेत व्यवस्थापन गर्न माग गरे ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद् भरतबहादुर खड्काले किसानहरुलाई मल बीउको उचित व्यवस्था गर्न माग गर्दै उनले कञ्चनपुरका उखु किसानहरुको समस्या समाधान गर्न पनि माग गरे ।
प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीकी सांसद् मालामति रानाले उखु सुकी सक्दा पनि किसानहरुले काट्ने पूर्जि नपाएको भन्दै प्रदेश सरकारले उनीहरुलाई उखु काट्ने पूर्जि दिलाउन माग गरिन् । उनले उखु बेचेको पैसा पनि तत्काल दिलाउनका लागि भूमिका निर्वाह गर्न सरकारलाई आग्रह गरिन् ।

प्रदेश सभाको बिहिबारको बैठक सभामुख अर्जुनबहादुर थापा र उपसभामुख निर्मला जोशी बडालले आलोपालो गरी सञ्चालन गरेका थिए । बैठकको शुरुवात गरेका सभामुख थापाले तीन जना सांसद्लाई बोल्नका लागि समय दिइसकेपछि बाँकी बैठक सञ्चालन गर्ने जिम्मेवारी उपसभामुख जोशीलाई दिएर बिदा भएका थिए । सभाको अर्को बैठक माघ २७ गते आइतबार दिउँसो २ बजे बस्ने गरी बैठक अन्त्य भएको घोषणा सपसभामुख जोशीले गरिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार