११ बैशाख २०८१, मंगलवार

डिपिएलको तयारी अन्तिम चरणमा



धनगढी । धनगढी प्रिमियर लिगको तेस्रो संस्करण रुस्लान डिपिएल ३ को तयारी अन्तिम चरणमा पुगेको छ ।
आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

यस संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ, अव दुलहीझै सिंगार्न मात्रै थोरै काम बँकी रहेको छ धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुशा शाहीले भने– रुस्लान धनगढी प्रिमियर लिगको सम्पुर्ण तयारी सम्पन्न भईसकेको छ। मैदान तथा प्राविधिक व्यवस्थापनका कामहरु लगभग सकिएका छन् ।
मैदान तथा ५ वटा पिच निर्माण सम्पन्न भइसकेको छ । ‘प्रतियोगिता आयोजनाका विभिन्न समितिहरुले पनि आ–आफ्ना जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरिरहेका छन् । म्याच अफिसियलहरु धनगढी आईपुगेका छन् ।’ शाहीले भने, ‘क्रिकेटलाई अझ योजनाबद्ध र व्यवसायिक हिसाबले लैजानको लागी धनगढी क्रिकेट एकेडेमी (डीसीए) जहिलै नयां योजनाका साथ आउने गरेका छौं सोही परिवेशमा शहर केन्द्रित फ्रेन्चाईज सोचको क्रिकेटलाई थप परस्कृत रुपमा अगाडि बढाइरहेका छौं । यूएईविरुद्धको ऐतिहासिक एकदिवसीय र टि–२० शृंखला जितेपछि धनगढीमा खेल्ने खेलाडीहरुले स्थानीय दर्शकहरुलाई रोमाञ्चित पार्नेमा हामी विश्वस्त छौं ।’
अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट मान्यता प्राप्त प्रतियोगिता रुस्लान डिपिएल ३ मा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ । सबै टोलीमा १२ जना अक्सनबाट लिईएका खेलाडी (स्थानिय सहित), एक रणनैतिक खेलाडी र दुई जना विदेशी खेलाडी रहने छन् ।
डिपिएलको तेस्रो संस्करणको मुख्य प्रायोजक रुस्लान क्रिकेट रहेको छ । यस्तै फुटवेयर पार्टनरमा गोल्डस्टार, कन्ट्रक्सन पार्टनमा जगशक्ति, मेडिकल पार्टनरमा नेपाल मेडिसिटी, पेन्ट पार्टनरमा जस्मिन पेन्ट्स, बैकिङ पार्टनरमा नबिल बैंक, इन्सोरेन्स पार्टनरमा अजोड इन्सुरेन्स, हाइजिन पार्टनरमा हिमाल डेन्टल, एअरलाइन्स पार्टनरमा श्री एअरलाइन्स, हस्पिट्यालिटी पार्टनरमा होटल ङ्खलोरा, करिअर पार्टनरमा कुमारी जब, ब्रोडकास्ट पार्टनरमा एपीवान एचडी र टिकेटिङ पार्टनरमा इसेवा रहेका छन् । यस्तै प्रतियोगिताको प्रवर्धकहरुमा नेपाल पर्यटन बोर्ड, धनगढी उपमहानगरपालिका रहेका छन् । प्रतियोगिताको गुडविल एम्बास्डरमा दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर जोन्टी रोड्स रहेका छन् । रोड्स माघ २४ गते धनगढी आइपुग्ने कार्यक्रम रहेको छ ।

पुरस्कार राशी सर्वाधिक, विजेताले ३० लाख र उपविजेताले १२ लाख पाउने

विगतका संस्करणझै प्रतियोगिता सर्वाधिक धनराशीको रहेने भएको छ । प्रतियोगिताको पुरस्कार राशीमा बीस प्रतिशत बढाइएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । प्रतियोगिताको कूल पुरस्कार राशी ६० लाख रहेको छ । त्यसमा विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउँनेछन् ।
यस्तै, प्रतियोगिताको गोल्डस्टार मोष्ट भ्यालुयवल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता दिइने छ । प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको शाहीले जनाए ।
रुस्लान डीपीएलको तेस्रो संस्करणमा ५ करोड रुपैया लागत खर्च हुने आयोजकको अनुमान छ । पहिलो संस्करणको डिपिएलको बजेट १ करोड ८२ लाख थियो भने कुल पुरस्कार २८ लाख ५० हजार रुपैयाँ थियो । दोस्रो संस्करण तीन करोडको लागतमा प्रतियोगिता सम्पन्न भएको थियो र जसमा विजेतालाई २५ लाख सहित कुल ५० लाख पुस्कार प्रदान गरिएको थियो ।
प्रतियोगिताको लाईभ एपिवान एचडी टेलिभिजनले गर्नेछ । अनलाइनमा लाइभ स्त्रिनिङको व्यवस्था पनि गरिएको छ । ईइसपिएनक्रिक्इन्फो लगायतका वेवसाइटहरुमा पनि लाइभ अपडेटको व्यवस्था हुनेछ । अनलाइन पारखी दर्शकहरुका लागि यस पटक क्रिकेट फन्टासी लिगको पनि व्यवस्थापन गरिएको छ ।
साथै प्रत्येक खेलमा खेलाडीले प्रहार गरेको पहिलो क्याच समाप्ते दर्शकलाई १० हजार पुरस्कारको व्यवस्था समेत गरिएको छ, जसलाई अजोड इन्सोरेन्सले प्रायोजन गरेको छ । टिकट काटेर आउने दर्शकहरुका लागी गोलाप्रथा माध्यम बाट आर्कषक नगत तथा अन्य पुरस्कार को समेत व्यवस्था गरिएको छ ।

यस्तो छ खेल तालिका

प्रतियोगिताको खेल तालिका यसअिघि नै सार्वजनिक भईसकेको छ । पहिलो खेल माघ २६ गते शनिबार दिउसो १ बजे सुरु हुनेछ । त्यसअघि उद्घाटन कार्यक्रम रहनेछ । प्रतियोगिता टि–२० को आधारमा हुनेछ । लिग चरणमा प्रत्येक टिमले एकआपसमा एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । पहिलो प्लेअफमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसंगको विजेतासग फाइनल प्रवेशको लागि खेल्नेछ ।
दोस्रो संस्करणमा झै यस संस्करणमा पनि प्रतियोगिताको उदटन समारोहमा डीसिएले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामामा सहभागी १ पूर्व खेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान १ व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप १—१ लाख रुपैया प्रदान गरिने छ ।
गतवर्ष धनगढी क्रिकेट सम्मानबाट नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक राजु खड्का तथा अर्जुन अड्का स्मृती सम्मानबाट राखेपका पूर्व प्रशिक्षक अरुणकुमार अर्याल सम्मानित भएका थिए ।

यस्तो छ डिपिएलको ईतिहास

डिपिएल ‘होटल डिभोटी एसपीए कप’ र नेपालमै पहिलो पटक खेलाडीको अक्सन प्रक्रियाद्वारा आयोजित ‘सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग’को मर्जरको नयाँ स्वरुप हो । एसपीए कपको सुरुवात सन् २०१० (४ लाख बजेट, प्रथम पुरस्कार २५ हजार) मा गरिएको थियो । सन २०११ (१३ लाख कुल बजेट, प्रथम पुरस्कार १ लाख), सन् २०१३ (२५ लाख बजेट, प्रथम पुरस्कार २ लाख) र सन २०१५ को चौथो संस्करण (६० लाख बजेट, विजेतालाई ५ लाख, उपविजेतालाई ३ लाख पुरस्कार) सम्पन्न भएको थियो । त्यस्तै, पहिलोपटक विभिन्न ५ वटा स्थानहरुको नामबाट टिम बनाएर गत बर्ष आयोजना गरिएको अक्सनमा आधारित डिपिएल ३ मा विजेतालाई ३ लाख र उपविजेतालाई १ लाख ५० हजार रुपैयँ पुरस्कार दिइएको थियो ।

अस्थायी प्याराफिट निर्माण र निःशुल्क बस सेवा

प्रतियोगिताका लागि ५ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिसकिएको छ । दर्शकहरुका लागि टिकटदर लिग चरणमा ५०, प्ले—अफमा ७० र फाइनलमा १०० तोकिएको छ । टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तराष्ट्रिय निर्माण अभियान (ड्रिम फाप्ला) लाई छुट्याइने तथा ४० प्रतिशत रकम सहभागी टिमलाई प्रदान गरिनेछ । दर्शकको सुविधालाई मध्यनजर राख्दै सुदूरपश्चिम यातायात व्यवसायी संघ, कर्णाली रिभर यातायात संघ र धनगढी उपमहानगरपालिकाको सहयोगमा दैनिक क्याम्पस रोडदेखि फाप्ला क्रिकेट मैदानसम्म निःशुल्क बस सेवाको व्यवस्था गरिएको छ ।

वल्र्ड भिजनसँग बाल विवाह अन्त्यका लागि सहकार्य

रुस्लान धनगढी प्रिमियर लिग ३ मा बाल विवाह विरुद्धका जनचेतनामुलक सन्देशहरु प्रवाह हुने भएका छन् । सिरिजभरी उद्घोषकले वाल विवाह न्युनीकरणका लागि जनचेतनामुलक सन्देशहरु प्रवाह गर्ने सहकार्य आयोजक धनगढी क्रिकेट एकेडेमीले वल्र्ड भिजन ईन्टरनेशनल नेपाललले गरेको छ । खेल मैदान अवरपर र स्कोर बोर्डमा पनि बाल विवाह सम्बन्धी सन्देशहरु राखिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार