१२ बैशाख २०८१, बुधबार

टीकापुर बहुमुखी क्याम्पसको वार्षिकोत्सव



टीकापुर । सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्ष दलका नेता रणबहादुर रावलले एकअर्काको कुरा काटेर आर्थिक समृद्धि नआउने भएकाले विकासका लागि सबै एकजुट हुन आह्वान गरेका छन् ।
मंगलबार टीकापुरमा टीकापुर बहुमुखी क्याम्पसको १७ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै नेता रावलले विकासका प्रचुर सम्भावना रहेको सुदूरपश्चिममा ती सम्भावना साकार पार्न सबै एकजुट हुन आवश्यक रहेको चर्चा गरे ।
कार्यक्रम टीकापुर बहुमुखी क्याम्पस प्रमुख केशरबहादुर कुवरको अध्यक्षतामा भएको थियो ।

सो अवसरमा टीकापुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष गंगाराम आचार्य, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कृषि संकायका डिन श्यामशंकर झा, क्याम्पस व्यवस्थापन समिति निवर्तमान अध्यक्ष नवलबहादुर खड्का, टीकापुर बहुमुखी क्याम्पस प्राध्यापक संघ इकाई समिति सभापति रामप्रसाद तिवारी, कर्मचारी संघ इकाई सभापति ध्रुवबहादुर रावल, टीकापुर बहुमुखी क्याम्पस स्ववियु सभापति सुरेशप्रसाद शर्मा, विरेन्द्र बहुमुखी क्याम्पस स्ववियू सभापति धनञ्जय रिमाल, नेविसंघका केन्द्रिय सदस्य सुशिला गिरी, अल्मुनाई अध्यक्ष अनिल कोइराला, पहलसिंह धामी, भक्तराज देवकोटा, पदम काफ्ले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वार्षिकोत्सव कार्यक्रममा निवर्तमान अध्यक्ष खड्का तथा विद्यार्थी लोकेन्द्र शाही र सिता विष्टलाई सम्मान गरियो ।
त्यस्तै, १० हजार पांच रुपैयाको धनञ्जय÷शारदा गरिब तथा जेहेन्दार विद्यार्थी पुरस्कार शिक्षाशास्त्र संकाय प्रथम वर्षका विद्यार्थी शर्मीला कुमारी रावतलाई प्रदान गरियो ।
सहायक प्राध्यापक उमाकान्त भण्डारीले सञ्चालन गरेको कार्यक्रममा सहायक क्याम्पस प्रमुख सिताराम रिमालले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार