१६ चैत्र २०८०, शुक्रबार

माटो बिना तरकारी र फलफूल खेती (भिडियो र फोटाे फिचर सहित)



धनगढी । अहिले प्रायःका हातहातमा स्मार्ट फोन छन् । ईन्टरनेटको सुविधा छ । प्रायः युवाले सूचना प्रविधिको प्रयोग मनोरञ्जनका लागि मात्रै भन्ने सोच्छन् । तर, धनगढी उपमहानगरपालिका वडा नम्बर २, बैयाबेहडीका भूवन जोशीले सूचना प्रविधिलाई रचनात्मक सिर्जनामा प्रयोग गरिरहेका छन् ।


भूवनले इन्टेरनेट चलाउने क्रममा गुगलमा सर्च गरेर माटो बिना तरकारी र फलफूल खेती गर्ने तरिका सिके । उनले त्यसलाई प्रयोगमा ल्याएर धनगढीको एसपीए रोडमा माटो बिनाको तरकारी र फलफूल खेती गर्न शुरु गरे ।
हाल उनको माटो बिनाको बारीमा रायो, चाइनिज रायो, टमाटर, खुर्सानी, स्ट्रबेरी लगायतका तरकारी फलाएका छन् । उनले माटो बिनाको तरकारी बारीमा अढाई सय बोट टमाटर, डेढ सय बोट स्ट्रबेरी र रायो सहित हरियो तरकारी रोपेका छन् ।

भूवनका अनुसार पानीमा न्युटे«न राखेर प्लाष्टिकको पाइप, गिलासमा सो खेती गर्न सकिन्छ । उनले विरुवालाई अक्सिजन दिनका लागि मोटर जडान गरी न्युट्रेन हालेको पानीमा सो तरकारी रोप्न सकिने बताए ।
गुगलबाट नौलो तरिका सिकेका भूवनले सो सम्बन्धी तालीम दिने संस्था खोजेर तालिम पनि लिएको बताए । उनले माटोमा लाग्ने खर्च मै माटो विनाको तरिकारी खेती गर्न सकिने बताए । उनी भन्छन्– तरकारी खेतीका लागि आफ्नो जमीन नभएको व्यक्ति वा परिवारलाई अर्गानिक तरकारीको लागि यो प्रविधि उपयुक्त छ । उनले सुदूरपश्चिम प्रदेशमा पहिलो पटक आफूले माटो बिनाको तरकारी खेती शुरु गरेको दावी गरे । भने– काठमाडौंमा त यस्तो प्रविधिको खेती निकै प्रचलनमा आइसकेको छ ।


भूवनले आफ्नो नयाँ प्रविधिको प्रचारका लागि सुदूरपश्चिम महोत्सवमा स्टल राखेका छन् । उनको स्टलमा मंगलबार तरकारी खेतीमा चासो राख्ने युवाले खचाखच भरिएका थिए । भूवनले रुचि राख्ने युवाहरुले चासो राख्ने गरेको र आफूले उनीहरुलाई प्रविधि बारे जानकारी दिइरहेको बताए ।

कृषि प्रविधिमा आकर्षित

सुदूरपश्चिम महोत्सवमा राखिएको कृषि प्रविधिको प्रदर्शनी मुख्य आकर्षणको रुपमा रहेको छ । प्रदर्शनीमा कृषि औजार, बेमौसमी कृषि प्रविधि, टनेल, माछा पालन प्रविधि, च्याउ प्रशोधन तथा उत्पादन प्रविधिहरु राखिएका छन् ।
महोत्सवमा आउने दर्शकहरु मध्ये कृषिमा चासो राख्ने युवाहरुले कृषि प्रदर्शनी अवलोकन गरिरहेका छन् । महोत्सवमा रहेको कृषि प्रदर्शनीलाई सुदूरपश्चिमको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र साना तथा मझौला किसान आयस्तर बृद्धि आयोजनाले प्रायोजन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार