७ बैशाख २०८१, शुक्रबार

लिटल फ्लावर सुपर लिग फुटबल प्रतियोगिता हुने



धनगढी । लिटल फ्लावर बोर्डिङ हाई स्कूलको आयोजनामा लिटल फ्लावर सुपर लिग फुटबल प्रतियोगिता हुने भएको छ ।
स्कूलले मंगलबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी धनगढी क्षेत्रीय रंगशालामा फागुन १२ देखि १८ गतेसम्म सो प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेको हो । प्रतियोगितामा कक्षा १० सम्म पढाई हुने १२ वटा विद्यालयको छात्र फुटबल टिम सहभागी हुने स्कूलका प्रिन्सिपल रामचन्द्र शाहीले बताए । उनले प्रतियोगितामा ६ लाख खर्च लाग्ने र प्रतियोगितालाई धनगढीको मृग गार्मेन्टले मुख्य प्रायोजन गर्ने जनाए ।

प्रतियोगिताका विजेताले ३० हजार नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र पुरस्कार दिइने प्रिन्सिपल शाहीले बताए । उनका अनुसार उपविजेताले ट्रफि, मेडल र प्रमाण पत्र नगद १५ हजार र उत्कृष्ट खेलाडीलाई पनि ट्रफि, मेडल र प्रमाण पत्रसहित तीन हजार रुपैयाँ पुरस्कार दिइने छ । उनले प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि ट्रफि, मेडल र प्रमाण पत्रसहित नगद पुरस्कारको व्यवस्था रहेको बताए ।
प्रतियोगिता नेपाल फुटबल संघको नियम अनुसार सञ्चालन गरिने प्रिन्सिपल शाहीले बताए । यसअघि तीन वटा संस्करणमा क्रिकेट लिग प्रतियोगिता सञ्चालन गरिसकेको स्कूलले खेल क्षेत्रको समग्र विकासका लागि फुटबल लिग सञ्चालन गरिरहेको उनले बताए । उनले आगामी बैशाख अन्तिमतिर भलिबल लिग सञ्चालन गर्ने तयारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार