४ बैशाख २०८१, मंगलवार

हेलिकोप्टरबाट धनगढी र खप्तडको अवलोकन गराइदै



धनगढी । कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवको अवसरमा हेलिकोप्टर चढेर धनगढी र धार्मिक पर्यटकीय क्षेत्र खप्तडको अवलोकन गराइरहेको छ ।

आयोजक संघले हेलिकोप्टर चढेर धनगढी र खप्तडको अवलोकन गर्नका लागि महोत्सवमा रहेको सचिवालयबाट बुकिङ गर्ने व्यवस्था गरेको हो । सोमबारदेखि धनगढीस्थित संघीय इकाइप्रहरी कार्यालयको मैदानमा सुरु भएको सुदूरपश्चिम महोत्सवमा मंगलबारदेखि हेलिकप्टर चढेर धनगढीको अवलोकन शुरु गरिएको छ ।
संघका बरिष्ठ उपाध्यक्ष पुष्पकराज ओझाले मंगलबार पहिलो दिन १८ जनाले हेलिकप्टर चढी धनगढी अवलोकन गरेको बताए । उनले खप्तड अवलोकनका लागि १२ जनाले बुक गरेको बताए ।
संघका अध्यक्ष पुष्परा कुँवरले हेलिकप्टर चढेर धनगढी अवलोकन गर्न चाहनेका लागि चार हजार र खप्तड अवलोकन गर्न चाहनेका लागि ३० हजार रुपैयाँ प्रति व्यक्ति शुल्क निर्धारण गरेको बताए ।
हरेक वर्ष आयोजना गर्ने सुदूरपश्चिम महोत्सव भन्दा यो वर्ष भिन्न तवरले मनाउने निर्णय अनुसार संघले हेलिकप्टर चढेर धनगढी र खप्तडको अवलोकन गर्ने ब्यवस्था गरेको अध्यक्ष कुँवरले बताए । जारी सुदूरपश्चिम महोत्सव कैलाली उद्योग वाणिज्य संघको १३ संस्करण हो ।

महोत्सवमा व्यस्तता भएको हुनाले महोत्सव अवधिभर धनगढी अवलोकनलाई प्राथमिकता दिने बरिष्ठ उपाध्यक्ष ओझाले बताए । उनले महोत्सव अवधिपछि खप्तड अवलोकनलाई अगाडि बढाइने बताए । यद्यपि, महोत्सव अवधिमा पनि खप्तड जान चाहने व्यक्तिहरुका लागि महोत्सव अवधिमै पनि केही उडान गरिने उपाध्यक्ष ओझाले बताए ।
अवलोकनका लागि संघले माउन्टेन हेलिकप्टर्स प्रालिको छ सिटे हेलिकप्टर धनगढीमा तयारी ल्याएको छ । हेलिकप्टरले हरेक उडान धनगढीस्थित पुरानो एयरपोर्टबाट भर्ने अध्यक्ष कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार