८ बैशाख २०८१, शनिबार

सम्पादकीयः बहु तथा बालविवाहको समस्या



महिलामाथि हुने हिंसाका साथै शारीरिक, मानसिक समस्याको एक प्रमुख कारणका रुपमा रहेको बहु विवाह तथा बाल विवाह नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न् प्रयास हुर्दै आए पनि मुक्त कमैया शिविर तथा वस्तीमा यो समस्या झन् बढिरहेको देखिएको छ । मुक्त कमैया तथा मुक्त कमलहरीहरुको अधिकार तथा शिक्षा, रोजगारी, स्वास्थ्य आदिको क्षेत्रमा काम गरिरहेका विभिन्न संघसंस्थाहरुको अध्ययनले नै मुक्त कमैया शिविर तथा वस्तीमा बहु विवाह तथा बाल विवाहको समस्या बढिरहेको देखाएको छ । गरिबी, अशिक्षा, परम्परागत सामाजिक तथा सांस्कृतिक सोच र मानसिकता तथा प्रचलनका कारण बहु विवाह तथा बालविवाहले निरन्तरता पाइरहेको छ । ऐनकानुनले बाल विवाह तथा बहुविवाहलाई दण्डनीय बनाएको छ । तर, आफ्नो अधिकारका लागि न्यायालय वा प्रशासनसम्म जानका लागि जागरुक नभएका कारण समस्या कम हुनुको साटो बढ्दै गएकोमा विमति रहदैन । मुक्त कमैया वस्तीमा मात्रै होइन, अझैं पनि अन्य थुप्रै समुदाय र क्षेत्रमा बाल विवाहलाई स्वीकार गरिएको अवस्था छ । खासगरी अन्तरजातीय विवाहमा उमेर नपुगे पनि मान्यता दिनु पर्ने जस्ता दबाव सिर्जना हुने गरेका छन् ।
कुनै जाती, वर्ग, सांस्कृतिक समुह वा क्षेत्रलाई जोडेर सामाजिक, सांस्कृतिक कुरीति वा प्रचलनहरुको चर्चा रुचिकर मानिदैन । तर, यसकै नाममा यस्ता समस्यालाई थाथी राख्ने वा अनदेखा गर्न पनि सकिदैन र गर्नु पनि हुदैन । कुनै समुदाय वा वर्ग अथवा क्षेत्र विशेषको परम्परा भन्दैमा गलत प्रचलनलाई मान्यता दिन सकिदैन । यस्ता खालका सामाजिक, सांस्कृतिक गलत प्रचलन, परम्पराको नियन्त्रणका लागि कानूनी प्रबन्ध गरिएको छ, तर यत्तिले मात्रै समाजमा शदीयौदेखि जरा गाडेका विश्वास, प्रचलन तथा अभ्यासहरु नियन्त्रण तथा अन्त्य हुन सक्दैनन् । मुक्त कमैया वस्तीमा बहु विवाह तथा बाल विवाहका घटनामा कमी आउन नसक्नुका पछाडीका मुल कारणको खोजी गर्दा सामाजिक, सांस्कृतिक परम्परा तथा अभ्यासहरुको विश्लेषण पनि आवश्यक हुन्छ ।
बाल विवाह तथा बहु विवाहका कारण सिर्जना हुने समस्याहरु व्यक्तिसंग मात्रै सिमित नरहेर समाजलाई नै प्रभाव पार्ने भएकाले पनि यस्ता समस्यालाई सामाजिक समस्याका रुपमा लिइनु आवश्यक हुन्छ । त्यसै भएर यस्ता समस्याको समाधान सामाजिक रुपमा नै गर्ने प्रयास गर्नु अझ प्रभावकारी हुने छ । यसका लागि सबैभन्दा पहिले बाल विवाह तथा बहु विवाहको यथार्थ अवस्था, बाल विवाह तथा बहु विवाहका कारण व्यक्ति, दम्पत्ति, परिवार र समुदायमा परेको असर र समस्याबारे तथ्यपरक अ्रध्ययन आवश्यक हुन्छ । बाल विवाह तथा बहु विवाहका घटनामा कमी आउन नसक्नुका पछाडीका कारणको विश्लेषणका साथै यी समस्या समाधानका लागि व्यक्ति, परिवार तथा समुदायले निर्वाह गर्नु पर्ने भू्रमिकाबारे पनि व्यापक र अर्थपूर्ण बहस सञ्चालन गर्नु आवश्यक छ । बाल विवाह तथा बहु विवाहको समस्या अधिक रहेका समुदाय, वर्ग तथा सांस्कृतिक समुह र क्षेत्रको पहिचान गरी न्युनिकरणका लागि संघसंस्थाहरुले सहकार्य गरेर अभियानका रुपमा कार्य गर्नु उचित हुने छ ।

सम्बन्धित समाचार

मुक्त कमैया शिविरमा बहुविवाह तथा बाल विवाह बढ्दो

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार