१२ बैशाख २०८१, बुधबार

नदीजन्य सामग्रीको अन्धाधुन्ध उत्खनन्पछि चार स्थानीय तहमा जोखिम बढ्दै



लम्की । नदीजन्य पदार्थ उत्खनन्का कारण कर्णालीको धार परिवर्तन भएर कैलालीका चार स्थानीय तहका वस्तीमा उच्च् जोखिको सम्भावना बढेको छ ।

मापदण्ड विपरित कर्णाली नदीबाट जथाभावी ढुंगा, गिट्टी र वालुवा उत्खनन् जारी रहेसंगै नदीको धार नै परिवर्तन भइरहेको छ । कैलाली जिल्लामा नदी तथा खोलामा उत्खनन्को अनुगमन तथा नियमन गर्ने जिम्मेवारी पाएको जिल्ला समन्वय समितिको अनुगमन समितिले कर्णाली वरपरका मानव वस्ती नै जोखिममा पर्ने गरी उत्खनन् भइरहेको जनाएको छ ।
जथाभावी उत्खनन्पछि पूर्वी क्षेत्रबाट बग्ने कर्णाली नदीको बहाव हाल झण्डै दुई सय मिटर पश्चिमबाट बग्न थालेको छ । कर्णालीको पानीको बहाव पश्चिमतिर बढेसंगै कटान र डुवानको समस्या बढ्ने अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर थापाले बताए ।
वातावरणीय प्रभाव मुल्यांकन नगरिएको क्षेत्रमा समेत उत्खनन् गरेको पाइएको अनुगमन समितिले जनाएको छ । उत्खनन्का कारण कैलालीको टीकापुर र लम्कीचुहा नगरपालिका तथा जानकी र जोशीपुर गाउँपालिका उच्च जोखिममा रहेको अनुगमन समितिले जनाएको छ । जथाभावी भइरहेको ढुंगा, बालुवा, गिट्टी उत्खनन् समयमै नरोकिए टीकापुर र लम्कीचुहा नगरपालिका तथा जानकी र जोशीपुर गाउँपालिकाका थुप्रै वस्ती तथा खेतीयोग्य जमिन केही वर्षभित्रै बगरमा परिणत हुने अनुगमन समितिका संयोजक थापाले बताए ।

अनुगमनमा गएका जानकी गाउपालिकाका अध्यक्ष प्रदिप चौधरीले अनुमती नलिएरै ढुंगा, बालुवा र गिट्टी उत्खनन् गर्नु गलत भएको बताए । उनले प्रारम्भिक वातावरणिय परिक्षण भएको इजाजत प्राप्त ठाउबाट मात्र सम्झौता अनुसारको काम गर्नुपर्ने बताए ।
तर, निर्माण व्यवसायीहरु भने स्थानीय सरकारले वातावरणीय प्रभाव मूल्यांकनको क्षेत्रनै नछुट्याएको दाबी गर्छन् । निर्माण व्यवसायी धिरज शाहीले स्थानीय तहले प्रारम्भिक वातावरणिय परिक्षण भएको ठाउँ नछुट्याएको बताए । उनले भने– टीकापुर नगरपालिका, जानकी तथा जोशीपुर गाउँपालिका र लम्कीचुहा नगरपालिकामा सीमाना छुट्याइएको छैन ।
जिल्ला समन्वय समितिका प्रमुख थापाको नेतृत्वमा गएको अनुगमन टोलीमा जिल्ला बन कार्यालय पहलमानपुर अधिकृत दिपक ज्ञवाली, लम्कीचुहा नगरपालिका उपप्रमुख टीका देवी थापा, जानकी गाउपालिकाका अध्यक्ष चौधरी र उपाध्यक्ष उमा महतो, लम्कीचुहा नगरपालिकाका वडा नम्बर ३ का अध्यक्ष भक्तबहादुर चलाउने, सशस्त्र प्रहरी नायव उपरिक्षक अमरबहादुर ऐर, प्रहरी निरिक्षक सुरेन्द्रप्रसाद जोशी, अनुसन्धान अधिकृत उपेन्द्र शाही तथा सबडिभिजन कार्यालय लम्कीका पूर्ण लक्ष्मी रावल रहेका थिए ।

सम्बन्धित समाचार

जथाभावी उत्खनन् गर्ने एक जेसिवी र तीन ट्रयाक्टर नियन्त्रणमा

नदीको धार नै परिवर्तन हुने गरी उत्खनन्

नदीजन्य सामग्री उत्खनन्मा रोकको निर्णय : अधिकांस स्थानीय तहले टेरेनन्

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार