१५ चैत्र २०८०, बिहीबार

पूर्व एमालेमा विवाद चर्किएपछि प्रधानमन्त्री धनगढी आउने कार्यक्रम रोकियो



धनगढी । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा तत्कालीन एमालेभित्र बढेको विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको धनगढी आउने कार्यक्रम रोकिएको छ ।
प्रधानमन्त्री ओली आगामी आइतबार धनगढी आउने कार्यक्रम तय भएको थियो । प्रधानमन्त्रीले आइतबार नै सुदूरपश्चिम प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।


त्यस्तै, सोही दिन नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेकपाको सुदूरपश्चिम प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । भने सोमबार (२१ गते) कैलाली उद्योग बाणिज्य संघद्वारा आयोजित महोत्सवको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको थियो ।
गत साता नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी बैठकमा अध्यक्ष कर्णबहादुर थापाले आफू निकटका केही व्यक्तिलाई राखेर अगुवा कार्यकर्ता भेलाको तयारी समिति गठन गर्न खोजेपछि विवाद सिर्जना भएको बताइएको छ । नेकपा स्रोतका अनुसार विवाद बढ्दै गएपछि नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी बैठक नै स्थगित भएको छ ।
प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तयारीका लागि समिति गठनका विषयमा वैठकमा विवाद भएको जानकारी पाएपछि प्रधानमन्त्री ओलीको धनगढी आउने कार्यक्रम स्थगित भएको छ । यससंगै धनगढीका आयोजना गर्न लागिएको प्रदेश स्तरीय कार्यकर्ता भेला समेत स्थगित भएको बताइएको छ ।
बैठकमा सदस्यहरूले अध्यक्ष थापासंग “प्रदेश इन्चार्ज भीम रावल र स्थायी समिति सदस्य लेखराज भट्टसंग बैठकका विषयमा किन छलफल नगरेको ?” भन्दै आक्रोश पोखेका थिए । बैठकमा केही प्रदेश इन्चार्ज रावल र स्थायी समिति सदस्य भट्टको जानकारी बिना नै बैठक बोलाएकोमा आपत्ति जनाएपछि बैठक नै स्थगित गरिएको बताइन्छ ।
प्रधानमन्त्री नआउने बुझेपछि अध्यक्ष थापा काठमाडौ गएर प्रधानमन्त्री ओलीलाई सहमत गराउने प्रयास गरे पनि सफल नभएकोे स्रोतको भनाई छ । नेकपा नेताहरु रावल, भट्ट, थापा र प्रदेशका सहइन्चार्ज लक्ष्मणदत्त जोशीबीच छलफल भएर प्रधानमन्त्रीलाई धनगढी ल्याउने तय भएको थियो । इन्चार्ज रावल र स्थायी समिति सदस्य भट्टको उपस्थितिमा प्रदेश कमिटीको पहिलो बैठकले पनि प्रधानमन्त्रीलाई धनगढी ल्याउने निर्णय गरेको थियो ।
यता, प्रदेश अध्यक्ष थापाले बैठकमा विवाद भएर प्रधानमन्त्री ओलीको धनगढी भ्रमण स्थगित भएको भन्ने हल्ला मात्रै भएको बताए । “यो दुई सय प्रतिशत झुठा कुरा हो” अध्यक्ष थापाले शुक्रबार अनुमोदनसंग भने– केही प्राविधिक कारणले मात्रै प्रदेश स्तरीय कार्यकर्ता भेला स्थगित भएको हो र हाललाई प्रधानमन्त्रीको धनगढी भ्रमण पनि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार