७ बैशाख २०८१, शुक्रबार

हिंसा न्युनिकरण सञ्जाल गठन सम्बन्धी समिक्षा (भिडियोसहित)



धनगढी । मुक्त कमैया महिला विकास मञ्चले शुक्रबार धनगढीमा गाउँ तथा नगरपालिकास्तरीय हिंसा न्युनिकरण सञ्जाल गठन समापन सम्बन्धी समिक्षा गरेको छ ।

मञ्चले कैलालीको मोहन्याल गाउँपालिका बाहेकका १२ वटा स्थानीय तहस्तरीय र एउटा जिल्लास्तरीय हिंसा न्युनिकरण सञ्जाल गठन गरी त्यसको समिक्षा गरेको हो । सञ्जालमा मुक्तकमैया, पूर्वकमलहरी, सिमान्तकृत वर्ग र समुदायका महिलाहरु सहभागी छन् ।
सञ्जालकी जिल्ला सचिव गीता चौधरीले जिल्ला र स्थानीय तहस्तरमा गठन गरिएको सञ्जालमा एक सय ५७ जना महिला आवद्ध रहेको बताइन् । उनले स्थानीय तहमा हिंसा सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरी सञ्जाल गठन गरिएको बताइन् । उनले कार्यक्रममा आठ सय ६१ जना महिला तथा पुरुषहरुलाई हिंसा, सुरक्षा, घटनाको उजुरी, समाधान प्रक्रिया र न्याय प्रणालीको बारेमा जानकारी दिएको बताइन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका महिला सेल प्रमुख प्रहरी नायव निरीक्षक खेमराज पन्तले घटना भएपछि समयमा उजुरी गर्न आउनुपर्ने बताए । उनले कतिपय उजुरी हद म्याद सकिएपछि आउनाले हिंसा पीडित महिलाले न्याय पाउन नसकेको बताए । हिंसा न्युनिकरणका लागि काम गर्दा कानुनलाई नै हातमा लिने गरी काम गर्न नहुने बताउँदै उनले घटना बढ्न नदिन सहजीकरण गर्न आवश्यक रहेको बताए ।

ओरेक नेपालकी जिल्ला संयोजक विनु रानाले हिंसा न्युनिकरण गर्नका लागि महिलाहरुले आफ्नो बोली सुधार गर्न आवश्यक रहेको बताइन् । कानुनी सहायता केन्द्र धनगढीका अधिवक्ता देवीलाल चौधरीले कानुनको विषयमा थोरै भएपनि जानकारी लिनुपर्ने आवश्यक रहेको बताए । उनले कानुनको बारेमा जानकारी भएमात्रै घटना भएपछि अदालत जाने वा स्थानीय तहमा गएर घटना समाधान हुन्छ भन्ने थाहा पाउन सकिने बताए ।

मुक्त कमैया महिला विकास मञ्चकी अध्यक्ष तथा जिल्ला स्तरीय हिंसा न्युनिकरण सञ्जालकी अध्यक्ष सम्पन्न कार्यक्रममा सञ्जालका पदाधिकारी तथा जिल्लास्तरका सरोकारवालाहरुको सहभागिता थियो । अध्यक्ष चौधरीले घटना न्युनिकरण गर्न काम गर्नेले कानुन हातमा लिन नहुने बताइन् । उनले घटना भएपछि मिले न्यायका लागि जान नसक्ने र मन नमिले पनि मिलो जस्तो गर्नुपर्ने बाध्यता रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार