१५ चैत्र २०८०, बिहीबार

छैठौं क्यास्पियन कप–२०७५ : एक्सीस, थ्रीस्टार, मयुर र एरिष्ट्रो विजयी



धनगढी । धनगढीमा जारी क्यास्पीयन कप क्रिकेट अन्तर्गत बुधबार चार खेल भएका छन् । बुधबारका खेलमा एक्सीस विद्याश्रम, थ्रीस्टार बोर्डिङ स्कुल, मयुर बोर्डिङ स्कुल र एरिष्ट्रो बोर्डिङ स्कुल विजयी भएका छन् । एक्सीस विद्याश्रमले वेष्टर्न क्रिष्टललाई ६० रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्दै एक्सिसले १० ओभरमा ६ विकेट क्षतिमा एक सय छ रन बनायो । एक्सीसका बरुण दत्तले ३५, अमृत रावलले १८ र राकेश बिष्टले १३ रन बनाए । बलिङतर्फ वेष्टन क्रिष्टलका राजेन्द्र बिष्टले दुई विकेट लिए ।
प्रतिउत्तरमा वेष्टर्न क्रिष्टल १० ओभरमा नौ विकेट क्षतिमा ५६ रनमा खुम्चियो । क्रिष्टलका प्रदीप धामीले १३ रन बनाए । क्रिस्टललाई सस्तोमै आउट गर्ने क्रममा एक्सीसका मनोज कार्कीले तीन विकेट लिए भने अमृत रावत र खेमराज थापाले दुई÷दुई विकेट लिए ।
बुधबारको दोस्रो खेलमा थ्रीस्टार बोर्डिङ स्कुलले स्टेपिङ स्टोनलाई १५ रनले हरायो । पहिले ब्याटिङ गरेको थ्रीस्टारले १० ओभरमा तीन विकेट क्षतिमा ८७ रन बनायो । थ्रीस्टारका चेतन गुप्ताले अविजित ३० रन बनाए भने हेमराज भट्टराईले १७ रन जोडे ।
८८ रनको लक्ष्य पछ्याएको स्टेपिङ निर्धारित १० ओभरमा दुई विकेट क्षतिमा ७२ रनमा समेटियो । स्टेपिङका विशाल बिष्टले अविजित १९ र सन्तोष चौधरीले १६ रन बनाए । तेस्रो खेलमा मयुर बोर्डिङ स्कुलले सिद्धार्थ शिशु सदनलाई नौ रनले किनारा लगायो । टस जितेर पहिले ब्याटिङ गरेको मयुरले १० ओभरमा पाँच विकेट क्षतिमा ८३ रन बनायो । सो पारीमा सन्दीप कायस्थले २५ र निरज खड्काले १५ रन बनाए । बलिङतर्फ सिद्धार्थका राहुल गुप्ताले दुई विकेट लिए । ८४ रनको विजय लक्ष्य पछ्याएको सिद्धार्थले निर्धारित १० ओभरमा चार विकेट क्षतिमा ७४ रन मात्रै बनाउन सक्यो ।
बुधबार नै भएको चौथो खेलमा एरिष्ट्रो बोर्डिङ स्कुलले शारदा विद्या निकेतनलाई सुपर ओभरमा पराजित गरेको छ । पहिले ब्याटिङ गर्दै शारदाले आठ दशमलव एक ओभरमा सबै विकेट गुमाएर ५८ रन बनायो । शारदाकासमीर जाग्रीले १८ रन बनाए ।
बलिङतर्फका एरिष्ट्रोका सौगात जोशी र राज मल्लले तीन÷तीन विकेट लिए ।
प्रतिउत्तरमा एरिष्ट्रोले पनि निर्धारित १० ओभरमा सात विकेट क्षतिमा ५८ रन मात्रै बनाउन सक्यो । एरिष्टोका मनोज कठायतले अविजित १४ रन बनाए । बलिङतर्फ शारदाका अमिश चौधरीले तीन विकेट लिए भने राज मल्लले दुई विकेट लिए ।
सुपर ओभरबाट एरिष्ट्रोले छ रन बनायो भने शारदाले चार रन मात्रै बनाउन सक्यो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार