४ बैशाख २०८१, मंगलवार

सेवा विस्तार गर्दै प्राथमिक स्वास्थ्य केन्द्र



चौमाला । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर २ स्थित चौमाला प्राथमिक स्वास्थ्य केन्द्रले सेवा विस्तार गर्दै अघि बढेको छ । २०४९ सालमा स्वास्थ्य चौकीका रूपमा स्थापना भएको सो स्वास्थ्य संस्थालाई २०५४ सालमा स्तरोन्नती गरी प्राथमिक स्वास्थ्य केन्द्रमा परिणत गरिएको थियो ।झण्डै २१ वर्षसम्म ओपिडी र प्रसूति सेवा दिँदै आएको सो केन्द्रले अहिले केन्द्रमा हुनुपर्ने आधारभूत सेवालाई विस्तार गर्दै लगेको केन्द्रका मेडिकल अधिकृत डाक्टर अस्विनी चौहानले बताए । “चौमालाका स्थानीयको मागलाई दृष्टिगत गरी सेवा विस्तार गर्दै अघि बढेका छौं” उनले भने ।
चौमाला प्राथमिक स्वास्थ्य केन्द्रले अहिले युएसजी/भिडियो एक्सरे, इसिजी, साधारण एक्सरे, फार्मेसी, आकस्मिक लगायतका सेवा शुरु गरिसकेको छ । डाक्टर चौहानले भने– “आगामी दिनमा पोष्टमार्टम सेवा, दन्त सेवा र सर्पदंश सेवा विस्तार गर्ने लक्ष्य लिएका छौं ।” उनले अहिले सरकारको नीति अनुसार हरेक स्थानीय तहमा एक अस्पताल हुनुपर्ने अवधारणा अनुसार सो केन्द्रलाई नै १५ बेडको अस्पतालका रूपमा विस्तार गर्ने सोच बनाइएको बताए ।
उनले सेवा विस्तार गरे पनि दिगो बनाउन चुनौति रहेको बताए । उनका अनुसार स्थानीय तहले प्राथमिक स्वास्थ्य केन्द्रको सुधारमा खासै ध्यान दिएको छैन । गौरीगंगा नगरपालिकाले अहिले चौमाला प्राथमिक स्वास्थ्य केन्द्रका लागि चार लाख रुपैया“ विनियोजन गरेको जनाएको छ । डाक्टर चौहानले भने– “नगरपालिकाले बजेट विनियोजन गरेको भनेको छ, तर कहिले उपलब्ध गराउने हो थाहा छैन ।”
उनले केन्द्रमा फार्मेसी र आकस्मिक सेवा आन्तरिक स्रोतबाटै शुरुवात गरिएको बताए । प्राथमिक स्वास्थ्य केन्द्रलाई आर्थिक वर्ष २०७४÷०७५ मा गौरीगंगा नगरपालिकाले एम्बुलेन्स खरिदका लागि ११ लाख रुपैयाँ विनियोजन गरेको थियो । आकस्मिक सेवा सञ्चालनका लागि केन्द्रले पा“च लाख र फार्मेसीका लागि तीन लाख रुपैयाँ आन्तरिक स्रोतबाट खर्च गरेको जनाएको छ ।
केन्द्रले विरामी पर्चा, स्वास्थ्य बिमा कार्यक्रम, एक्सरे सेवा, प्रयोगशाला, ओजीटी लगायतबाट वार्षिक झण्डै सात लाख आम्दानी गर्दै आएको छ । केन्द्रलाई गत आर्थिक वर्षमा संघीय स्वास्थ्य मन्त्रालयले सेवा सुदुढीकरण शीर्षकमा तीन लाख रुपैयाँ उपलब्ध गराए पनि यस आर्थिक वर्षमा भने विनियोजन गरेको छैन ।
चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा छाला, पेट, हड्डी, छाती तथा मुटु लगायतका समस्या लिएर बिरामी आउने गरेका छन् । केन्द्रमा दुर्घटना, जटिल बिरामी, भाचिनु लगायतका विरामीहरूलाई रिफर गर्नुपर्ने अवस्था रहेको छ ।

२४ सैं घण्टे आकस्मिक सेवा शुरु
कैलालीको चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा २४ सै घण्टा आकस्मिक सेवा बुधबारबाट शुरु गरेको छ । पा“च बेड राखेर केन्द्रले सो सेवा शुरु गरे पनि दिगो बनाउन चुनौति रहेको जनाएको छ ।“स्थानीय तहले सहयोग नगरे केन्द्रको आन्तरिक स्रोतले दिगो बनाउन सकिदैन” केन्द्रका मेडिकल अधिकृत चौहानले भने– “आकस्मिक सेवामा एक डाक्टर, एक अहेव र एक कार्यालय सहयोगी राखिएको छ । उनीहरूको सेवासुविधा आन्तरिक स्रोतबाट प्रदान गर्न सकिने अवस्था छैन ।” उनले आकस्मिक सेवामा प्रत्येक बिरामीबाट एक सय रुपैया“ शुल्क लिने निर्णय भएको बताए ।
आकस्मिक सेवाको एक कार्यक्रमबीच प्रदेशका पूर्व सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले उद्घाटन गरे । सो अवसरमा उनले स्वास्थ्य संस्थामा कर्मचारीहरूले समय नदिने, बिरामी आएको बेला चिकित्सक नभेटिने लगायतका गुनासा आइरहेको प्रति संवेदनशील हुन आग्रह गरे ।
सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले प्राथमिक स्वास्थ्य केन्द्रलाई आवश्यक बजेट उपलब्ध गराउन मन्त्रालय तत्पर रहेको बताए । उनले भने– “कर्मचारी व्यवस्थापन, उपकरण र आवश्यक बजेट उपलब्ध गराउछौं ।”
प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष जगत साउँदको अध्यक्षतामा भएको कार्यक्रममा गौरीगंगा नगरपालिका उपप्रमुख अञ्चला चौधरी, राजनीतिक दलका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अस्पतालका मेडिकल अधिकृत डाक्टर चौहानले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापन समितिका उपाध्यक्ष नवराज शाहीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार