१३ बैशाख २०८१, बिहीबार

एक दिवसीय क्रिकेट श्रृंखलामा नेपाललाई एतिहासिक सफलता : यूएईविरुद्ध नेपाल २-१ ले विजयी



काठमाडौं । पारस खड्काको कप्तानी इनिङसँगै नेपालले युएईविरुद्धको तीन एक दिवसीय क्रिकेटको श्रृंखला नेपालले २-१ ले जित्दै इतिहास रचेको छ । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का यूएईविरुद्ध सोमबार सम्पन्न ओडीआई सिरिजको ‘म्यान अफ द सिरिज’ घोषित भएका छन् । निर्णायक खेलमा नेपाललाई ४ विकेटको जित दिलाउन कप्तान पारसले शतक प्रहार गरेका थिए । ।
यूएईविरुद्ध २५५ रनको लक्ष्य पछ्याएको नेपाल ६ विकेट गुमाउँदै ४४।४ ओभरमा लक्ष्य भेट्टाएको हो ।पहिले खेल हारेको नेपालले लगातार २ खेल जित्दै सिरिज हात पारेको हो । आईसीसीले ४ वर्षका लागि एक दिवसीय क्रिकेटको मान्यता दिएपछि दोस्रो सिरिज खेलेको नेपालले पहिलो उपाधि हात पार्न सफल भएको हो। ।
२०१८ को अगष्टमा नेदरल्याण्ड्ससँग सिरिज बराबरी गरेको नेपालले यूएईलाई उसकै मैदानमा तेस्रो तथा अन्तिम खेलमा ४ विकेटको जित निकाल्दै सिरिज जीतेको हो ।
नेपाललाई ऐतिहासिक सिरिज दिलाउन पारस खड्काले कप्तानी पारी खेलेका छन् । उनले शतकसहित ११५ रन बनाए ।
ओपनर ब्याट्सम्यान विनोद भण्डारी आउट भएपछि क्रिजमा आएका कप्तान खड्काले ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, रोहित पौडेल र आरिफ शेखसँग गतिलो साझेदारी गर्दै शतक बनाएका थिए । आईसीसीले मान्यता दिएपछि पारसले पहिलो शतक बनाएका हुन् ।
नेपालका लागि सोमबार खेल जिताउन उपकप्तान ज्ञानेन्द्र मल्लले ३५ बलको सामना गरेका मल्लले ४ चौकाको मद्दतले ३१ रन बनाए । ज्ञानेन्द्र आउट भएपछि मैदान आएका दीपेन्द्रसिंह ऐरी भने सोमबार पनि चल्न सकेनन् । उनी १५ बल खेल्दै ६ रन बनाएर पेभेलियन फर्किएका थिए ।
सोमबारमात्रै राष्ट्रिय टिममा डेब्यु गरेका युवा खेलाडी सन्दीप जोराले १९ रन बनाए । २० बल सामना गरेका उनले तेस्रो बलमै छक्का प्रहार गरेर यूएईका बलरमाथि दबाब बनाएका थिए । जोराले एउटा चौका प्रहार गर्दै लगातार एक दुई रनमा स्ट्राइक रोटेट गरेका थिए ।
यसअघिको खेलमा अर्धशतक सहित ५५ रन बनाएका विश्वकै कम उमेरका खेलाडी रोहित पौडेलले सोमबार १६ रनको योगदान गरे । १९ बल खेलेका रोहितले एक चौकाको मद्दतले १६ रन बनाए ।
अन्तिममा खेल जिताउन सोमपाल कामी र आरिफ शेख नट आउट रहे । सोमपाल २६ रनमा नट आउट रहँदा आरिफ २१ रनमा नट आउट रहे ।
टस हारि पहिला ब्याटिङ गरेको घरेलु टोली युएईले निर्धारित ओभरमा ६ विकेट गुमाएर २५४ रन बनाएको थियो ।
२ रनमा २ विकेट लिएर सुरुमा नेपालले युएईमाथि दबाब दिए पनि मिडिल अर्डरका खेलाडीहरु टिकेर खेल्दा उसले सम्मानजनक स्कोर बनाएको थियो ।
गुलाम सब्बेर चिराग शुरीले तेस्रो विकेटका लागि ४५ रनको साझोदारी गर्दै युएईको इनिङ उकासेका थिए । युएईको स्कोर ४७ रन हुँदा कप्तान पारस र लेगस्पिनर सन्दिप लामिछानेले बलियो साझेदारी गरेका मोहमद उस्मान र गुलाम सब्बेरलाई आउट गरेका थिए । त्यसपछि फेरि युएईका चुन्दा रिजवान र साइमन अनवारले इनिङ सम्हाल्न सफल भए ।उनीहरुकाबीचमा १०० रनको साझेदारी भएपछि नेपाललाई खेलमा फर्कन केही अप्ठेरो भएको थियो ।
४७ रनमा चार विकेट गुमाएको युएईले १४७ रनमा पाँचौ विकेट गुमाएको थियो । ४५ रन बनाएका रिजवानलाई करण केसीले आउट गरेका थिए । यसैगरी युएईको २२७ रन हुँदा पारसले अर्धशतक सहित ८७ रन बनाएका अनवरलाई पेभेलियन पठाए ।
मजबुत ब्याटिङ अर्डर रहेको युएईका लागि मोहमद बोताले ३१ बल खेल्दै ४ छक्का र ५ चौका सहित ५९ रनमा नटआउट रहे । यसैगरी ३ बल खेलेका कप्तान मोहमद नाभिदले एक छक्का र एक चौका प्रहार गरेका थिए ।
नेपालका करण केसी र पारस खड्काले दुई दुई विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार