१३ बैशाख २०८१, बिहीबार

सिप्रदीद्वारा ३० जना विद्यार्थीलाई पोशाक वितरण



धनगढी । धनगढी उपमहानगरपालिकाका तीन वटा विद्यालयका ३० जना विद्यार्थीलाई पोशाक कापी कलम र झोला वितरण गरिएको छ ।

सिप्रदीयन सहायता संस्थाले शुक्रबार धनगढी–३, बोराडाँडीको त्रिभुवन, १३ राजपुरका जनता राष्ट्रिय र १३ कै कैलाली गाउ“को जनता राष्ट्रिय माध्यमिक ३० जना विद्यार्थीलाई सो सामाग्री वितरण गरेको हो । धनगढी उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष विजयराज जोशी र वडा नंं ३ का अध्यक्ष बलबहादुर ऐरले संयुक्त रुपमा विद्यार्थीलाई सो सामाग्री हस्तान्तरण गरेको संस्थाका सदस्य इन्द्रबहादुर कडाल बताए ।
सामाग्री हस्तान्तरणपछि वडा नं १३ का वडा अध्यक्ष विजयराज जोशीले विद्यार्थीको मनोबल बढाउन आफ्नो पहलमा सिप्रदीलाई सो सामाग्री वितरण गर्न लगाएको बताए । उनले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएकोले विद्यार्थीलाई चारित्रिक र मानसिक रुपमा सक्षम बनाउन आफू लागि रहेको बताए ।
सिप्रदी ट्रेडिङ कम्पनीका शाखा प्रबन्धक समेत रहेका कडालले १० जिल्लाका तीन सय विद्यार्थीलाई यस्ता सामाग्री वितरण गर्ने लक्ष्य रहेको र यस अघि कञ्चनपुर, बाँके, इटहरी जिल्ला लगायतको नौ वटा विद्यालयमा सामाग्री वितरण गरिसकेको बताए ।

उनले सिप्रदी ट्रेडिङ कम्पनीले सामाजिक उत्तरदायित्वका लागि सिप्रदीयन सहायता संस्थाको निर्माण गरी सबैको लागि शिक्षा अभियान स्वरुप यस्ता सामाग्री विद्यालयलाई वितरण गरिन लागेको बताए । विद्यार्थीको उच्च मनोबल विकास गर्न, विद्यालयमा जनचेतना अभिवृद्धि गर्न, छात्रवृति र स्वरोजगारका विभिन्न कार्यक्रम गर्न संस्था स्थापना गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार