१३ बैशाख २०८१, बिहीबार

विकासका लागि स्थानीय सरकारसंग मिलेर काम गर्ने: मन्त्री बोहरा



एकिन्द्र तिमिल्सिना

टीकापुर । टीकापुर नगरपालिकाले दोस्रो मेयर कप छात्र रनिड्ड शिल्ड प्रतियोगिता तथा पहिलो उपमेयर कप छात्रा रनिड्ड शिल्ड प्रतियोगिता बिहिबारबाट शुरु भएको छ ।
शहिद सप्ताह तथा टीकापुर नगरपालिकाको स्थापना दिवसको अवसरमा टीकापुर नगरपालिकाले सो प्रतियोगिता आयोजना गरेको हो । टीकापुर नगरपालिकाको स्थापना २०५३ माघ १७ गते भएको थियो ।
प्रतियोगितामा ३३ वटा विद्यालयका १४ वर्ष मूनिका छात्र र २० वटा विद्यालयका छात्रा टोलीले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिता माघ २४ गतेसम्म चल्ने छ ।

प्रतियोगिता उद्घाटन समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले टीकापुरको खेलको योजनावद्ध विकासका लागि प्रदेश सरकारले काम गर्ने बताए । उनले जनताको नजिक रहेर समस्याहरु नियालिरहेको बताउदै प्रदेश सरकारले ९ वटै जिल्लामा गौरवका सडकहरु, चिसापानीबाट कर्णाली प्रदेश जोडने बाटो र पुल बनाइरहेको बताए । उनले तीनै तहमा आफ्नो दलको सरकार रहेकाले समन्वयमा विकासका कार्यक्रम अघि बढाउने बताए ।
नेपाली कागे्रस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले स्वास्थ्य राम्रो भएका व्यक्तिले मात्रै संसारको सबैकुरा पाउन सक्ने भएकाले स्वास्थ्यका लागि खेलकूद महत्वपूर्ण हुने बताए । उनले विद्यार्थी र शिक्षकलाई पढाइसंगै खेलकूदलाई महत्व दिन आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका सुदूरपश्चिम प्रदेश सभा सदस्य रतनबहादुर थापाले प्रदेश सरकारलाई व्यवस्थापन र कर्मचारी समायोजन गर्न समय लागेको र लम्की खक्रौला चार लेनको सडक, कर्णाली सनकट्टि घाटमा पुलको डीपीआर तयार भैरहेको बताए ।

कार्यक्रममा पूर्व सभासद् रुपा चौधरी, नेकपाका नेता भैरव रावल, नेपाली कागे्रसका नेता मोतिराम भण्डारी, राष्ट्रिय जनता पार्टी (राजपा) का लक्ष्मणकिशोर चौधरी, सामुदायिक वन उपभोक्ता महासंघ टीकापुर नगरका अध्यक्ष श्याम खत्री, जनजागृति मावि सीतापुरका प्रधानाध्यापक ललिता शाही, बीरेन्द्र विद्या मन्दिर माविका प्रधानाध्यापक यज्ञराज ज्ञवाली, प्यावसनका जिल्ला सचिव देवेन्द्रबहादुर शाह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नगरप्रमुख तपेन्द्रबहादुर रावलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रवक्ता दीर्घबहादुर ठकुल्लाले गरेका थिए भने स्वागत उपप्रमुख केशरी रावल विष्टले गरिन् । कार्यक्रममा टीकापुर खेलकूद विकास समितिले २२ विगाहमा पूर्वाधार निर्माणको योजना भैसकेकोले त्यसमा रंगशाला निर्माणको माग गर्दै मन्त्री बोहरालाई ज्ञापन पत्र बुझाएको छ । पहिलो खेल जनता राष्ट्रिय मावि सोनाहाफा“ र युनाइटेड एकाडेमीका छात्र टोलीबीच भएको छ । युनाइटेडले जनता राष्ट्रिय मावि विरुद्ध ६ गोल गरी विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार