११ बैशाख २०८१, मंगलवार

अत्तरिया महोत्सवमा हत्या गरेको अभियोगमा चार पक्राउ



धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले अत्तरियामा जारी महोत्सवमा एक युवकको हत्या गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।


माघ ५ गते गोदावरी–१ का अरुण भट्टलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा गोदवरी–२, शिवशक्ति टोलका बिनोद ऐर सहित तीन जना पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको हो । हत्या गरी विनोद्लाई मोटरसाइकलमा भाग्न सहयोग गरेको अभियोगमा धनगढी–३, बोराडाँडीका डेविड ऐर, विनोदलाई डेरा कोठामा लुकाएको अभियोगमा भजनी–२ घर भई धनगढी–२ उत्तरबेहडी डेरामा बस्ने मञ्जु चौधरी खड्का र धनगढी–१३ शिवटोल बस्ने लोकेश खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभुषण तिमिल्सिनाले बताए ।
उनले घटनामा संलग्न थप अभियुक्तलाई पिछा गरिरहेको बताए । उनले हत्या गरी भाग्न प्रयोग गरिएको से ४ प ५९२८ नम्बरको मोटरसाइकल बरामद गरिएको र हत्यामा प्रयोग गरिएको खुकुरी खोजी रहेको बताए ।


मृतक भट्ट र उनका साथीहरु हरि राई र राजेश नेपाली लगायतसंग विनोद्को समूहको पुरानो रिसिविका कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक तिमिल्सिनाले बताए । उनले घटनामा घाइते भएका राई र नेपाली उपचारपछि घर फर्किएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार