११ बैशाख २०८१, मंगलवार

गोदावरीमा राजधानी अनुपयुक्त– नेतृ आरजु



धनगढी । नेपाली काँग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा बनाउनु अनुपयुक्त भएको बताएकी छन् ।
“प्रदेश सरकारले बहुमतको दम्भ देखाउँदै प्रदेशको राजधानी गोदावरीमा तोकेको छ । तर, त्यहाँ राजधानी तोक्नुको प्रदेश सरकारसँग कुनै स्पष्ट तर्क छैन” आइतबार धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै नेतृ राणाले भनिन्– “नेपाली काँग्रेस नेतृत्वको पूर्ववर्ति सरकारले धनगढीमा अस्थायी राजधानी तोक्नुका धेरै तर्क रहेका छन् ।” उनले धनगढी सुदूरपश्चिम प्रदेशकै मुख्य व्यापारिक शहर रहेको तथा सरकारी भवनहरू मर्मतका लागि राज्यको ठूलो लगानी भइसकेको बताइन् ।
उनले वर्तमान सरकारले नेपाली काँग्रेस नेतृत्वको सरकारले गरेको निर्णय नमान्ने भनेर नै गोदावरीमा राजधानी तोकेको बताइन् । भनिन्– “फेरि हाम्रो सरकार आएपछि निर्णय परिवर्तन गरियो भने के हुने ?” उनले काँग्रेसले धनगढी शहर मन प¥यो भनेर मात्रै अस्थायी राजधानी घोषणा नगरेको बताए ।
उनले वातावरणीय, जैविक मार्ग, महत्त्वपूर्ण वनजंगल, भावर, जल सञ्चय भण्डार आदिका कारण गोदावरीमा राजधानी बनाउनु कुनै पनि कारणले तर्कसंगत नरहेको बताइन् ।
एक अर्को प्रसंगमा उनले कञ्चनपुरकी बालिका निर्मला पन्त हत्याकाण्डमा संलग्न दोषिलाई पत्ता लगाउन वर्तमान सरकार गम्भीर नभएको आरोप लगाइन् । उनले भनिन्– “बालिका निर्मलाको बलात्कार तथा हत्याले सबै नेपाली आहत भएका छन्, चिन्तित भएका छन्, तर, सरकार छानबिनमा गम्भीर हुन सकेको छैन ।”
उनले वर्तमान सरकारका काण नेपालमा अहिले दण्डहिनता मौलाउँदै गएको बताइन् । उनले वर्तमान सरकार राष्ट्र र जनताका लागि नभएर आफ्नो पार्टी र कार्यकर्ताका लागि मात्रै काम गरिरहेको आरोप लगाइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार