८ बैशाख २०८१, शनिबार

आर्थिक प्रशासन र खरिद सम्बन्धि तालिम सुरु



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका, बौनियामा आइतबारदेखि सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापक र लेखापालहरूका लागि आर्थिक प्रशासन तथा खरिद सम्बन्धी तालिम शुरु भएको छ ।
बर्दगोरिया गाउँपालिका शिक्षा शाखाको आयोजनामा सञ्चालित तालिम तीन दिनसम्म चल्ने जनाइएको छ ।
तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बलिराम चौधरीले विद्यालयको आर्थिक प्रशासन व्यवस्थित र पारदर्शी गर्नुका साथै क्षमता अभिवृद्धिमा तालिमले सहयोग गर्ने अपेक्षा लिएको बताए ।
तालिममा गाउँपालिका अन्तर्गत रहेका १७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय सहायक गरी २५ जनाको सहभागिता रहेको जनाइएको छ ।
तालिममा आर्थिक प्रशासन सञ्चालन गर्दा आइपर्ने समस्या, मालसामान खरिद गर्दा अवलम्बन गर्नुपर्ने सार्वजनिक खरिद प्रक्रिया, लेखा श्रेस्ता प्रणालीको व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिइने बताइएको छ ।
तालिममा प्राविधिक सहायक निरिखनन्दन लालकर्ण, लेखा अधिकृत कमलराज जोशी, प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीले सहजीकरण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार