४ बैशाख २०८१, मंगलवार

महासंघद्वारा गौरक्षका लागि अपिल



धनगढी । विश्व हिन्दू महासंघ नेपाल, कैलालीले गौ रक्षाका लागि सबैमा अपिल गरेको छ । समितिले शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी छाडा रूपमा छोडिएका गाईको संरक्षण र व्यवस्थापनका लागि सहयोग गर्न सार्वजनिक अपिल गरेको छ ।
विश्व हिन्दू महासंघ सुदूरपश्चिम प्रदेश संयोजक राजप्रसाद जोशीले हिन्दू धर्मावलम्बीमा जन्मेदेखि मृत्यु हुँदासम्म गाईको आवश्यकता पर्ने भए पनि अहिले गाई नै कठिनाईमा परेको बताए । उनले चटकपुरमा गौशाला निर्माण भइरहेकाले त्यसका लागि सहयोग गर्न आग्रह गरे ।
धनगढी उपमहानगरपालिकाको चटकपुरमा निर्माण भइरहेको गौशाला निर्माण सेवा समितिका अध्यक्ष भोजराज पाठकले गौशाला निर्माणमा सबैको सहयोगको आवश्यक रहेको बताए ।
पत्रकार सम्मेलनमा विश्व हिन्दू महासंघ नेपाल, कैलालीका संयोजक सिताराम अवस्थी, उपाध्यक्ष टेकराज अवस्थी लगायतले गौरक्षा अभियानबारे धारणा व्यक्त गरेका थिए ।
यसैगरी गाईको व्यवस्थापनका लागि आइतबार धनगढीमा बृहत अन्तरक्रिया कार्यक्रम समेत गरिने समितिका सचिव खगेन्द्र अवस्थीले जानकारी दिए ।
अन्तरक्रियामा सुदूरपश्चिम प्रदेश सभा सदस्यहरू, धनगढी उपमहानगरपालिका प्रमुख सहित जनप्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार