११ बैशाख २०८१, मंगलवार

औंलो प्रभावित क्षेत्रमा झुल वितरण



बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिका र हिमाली गाउँपालिकाका औंलो प्रभावित क्षेत्रमा किटनाशक झुल वितरण गरिने भएको छ । महामारीका रूपमा औंलोको प्रकोप फैलिनसक्ने भएकाले नौ हजार ९०० झुल वितरण गर्न लागिएको हो ।
मौसम परिवर्तनका कारण लामखुट्टेले टोक्नेक्रम बढिरहेको र गाउँमा औलोको संक्रमण देखिन थालेकाले पूर्वसावधानीका लागि झुल वितरण गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा रूपचन्द्र विश्वकर्माले जानकारी दिए ।
किटनाशक ‘एलएलआइएन’ नामक झुल जिल्लाको बुढीनन्दा नगरपालिका–१ देखि ७ सम्म र हिमाली गाउँपालिकाको वडा नम्बर ६ मा वितरण गर्न लागिएको हो । सो नगरपालिकाको १ देखि ७ वडासम्मका लागि सात हजार ६५० र हिमाली गाउँपालिकाको वडा नम्बर ६ मा दुई हजार २५० झुल वितरण गर्न लागिएको हो ।
तीन वर्षसम्म लामखुट्टेको टोकाइबाट हुने संक्रमण कम गर्न झुलले मद्दत गर्ने स्वास्थ्यकर्मीको भनाइ छ । किटनाशक ‘एलएलआइएन’ झुल नेपाल सरकारले लाइफ टाइम नेपालको प्राविधिक सहयोगमा वितरण गर्ने फिल्ड सुपर भाइजर चन्द्रमणि सुनारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार