६ बैशाख २०८१, बिहीबार

अक्षरांकन पद्धति व्यवस्थित गर्नुपर्ने



धनगढी । सरकारले सञ्चालन गरेको अक्षरांकन पद्धतिलाई व्यवस्थित गरेर थप प्रभावकारी बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
राष्ट्रिय परीक्षा बोर्ड योजना तथा मूल्यांकन महाशाखा काठमाडौंले बिहीबार धनगढीमा आयोजना गरेको अक्षरांकन पद्धतिको कार्यान्वयन र प्रमाणीकरण प्रभाव सम्बन्धी गरिएको छलफलमा प्रदेशका ९ वटै जिल्लाबाट सहभागी शिक्षक तथा सरोकारवालाले सो सुझाव दिएका हुन् ।
छलफल उद्घाटन गर्दै धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले ग्रेडिङ पद्धतिका बारेमा अझै पनि यथेष्ट जानकारी नहुँदा अन्यौलता रहेको बताए । यस बारेमा स्वयं परीक्षा दिने विद्यार्थीले बुझ्न पाउनुपर्छ नगरप्रमुख वडले भने– “यस्तै अभिमूखीकरण कार्यक्रमले बुझाउन सक्छ ।” यो पद्धतीको बारेमा ब्यापक छलफल चलाएर मात्रै कार्यान्वयनमा ल्याएको भए अहिले अन्यौलता आउने थिएन नगरप्रमुख वडले भने– “अझै पनि छलफलको दायरालाई व्यापक बनाउन अनुरोध गर्दछु ।”
नगरप्रमुख वडले अहिले सरकारले दिइरहेको शिक्षा नीतिले शैक्षिक बेरोजगारी मात्रै बढाएको बताए । “आधा उमेर र पैशा पढाईमा नै खर्च गर्नुपर्ने र त्यसपछि पनि रोजगारी नपाउने शिक्षाले गरिवी बढाएको छ” नगरप्रमुख वडले भने– “अहिले चाहिएको व्यवहारिक र रोजगार मुखी शिक्षा हो ।”
धनगढीस्थित त्रिभुवन माविका प्राचार्य सीताराम अवस्थीले लेटर ग्रेडिङ प्रणाली राम्रो भएपनि व्यवस्थित गर्नु आवश्यक रहने बताए । “यो प्रणालीले विद्यार्थीमा निरासा ल्याएको छैन” उनले भने– “तर पढ्ने वानीको विकासमा यो प्रणाली बाधक जस्तो देखिएको छ, त्यसैले व्यवस्थित गरेर लैजानु आवशयक छ ।”
कैलाली बहुमुखी क्याम्पसका स्ववियू सभापति चुडामणि भट्टले पनि अक्षरांकन पद्धतिलाई व्यवस्थित गरेर लैजानु आवश्यक हुने बताए । “शिक्षापछि नराम्रो नतिजा आउने विद्यार्थीको मानसिक असरलाई अक्षरांकन पद्धतिले हटाउने प्रयास गरेको छ” उनले भने– “तर यो पद्धतिले प्राप्त गर्न खोजेको उद्देश्य प्रष्ट नहुँदा केही अन्यौल भएकाले अक्षरांकन पद्धतिका बारेमा सवैलाई बुझाएर लैजानु आवश्यक छ ।”
कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्डका निमित्त सदस्य सचिव जंगबहादुर अर्याल, प्रोफेसर डाक्टर तीर्थराज पुजाराले अक्षरांकन पद्धतिका बारेमा कार्यपत्र प्रस्तुत गरे । कार्यक्रम समापन प्राफेसर डाक्टर चन्द्रमणि पौडेले गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार