१२ बैशाख २०८१, बुधबार

जनप्रतिनिधिहरूको क्षमता अभिबृद्धि तालिम



धनगढी । धनगढीमा बिहीबारदेखि स्थानीय तहका जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि तालिम शुरु भएको छ ।
युएन वुमेनको आर्थिक सहयोग, सर्च फर कमन ग्राउण्डसँगको साझेदारी, भजनी नगरपालिका र कैलारी गाउँपालिकासँगको सहकार्यमा फाया नेपालद्वारा सञ्चालित हाम्रो नेतृत्व परियोजना अन्तर्गत आयोजित तालिममा स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरूले भोगीरहेका अप्ठ्याराहरू र आवश्यकता, जनप्रतिनिधिका असल अभ्यास तथा अनुभव आदान प्रदान, शसक्तिकरण र क्षमता अभिवृद्धिका लागि सहकार्यत्मक नेतृत्व साझा मञ्च निर्माण गर्ने उद्देश्यले गरिएको फाया नेपालका कार्यक्रम निर्देशक धर्मराज पाठकले बताए । तालिमको एक कार्यक्रमका बीच भजनी नगरपालिकाका उप्रमुख छाया देवकोटा र कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले संयुक्त रूपमा उद्घाटन गरेका थिए । तालिम उद्घाटन सत्रमा भजनी नगरपालिका उपप्रमुख छाया देवकोटाले तालिमले स्थानीय तहको कानुन निर्माण, विकास निर्माण, लैंगिक समानता, समावेशीकरण सामाजिक न्याय मानवअधिकार र महिलाको समान सहभागीता र सह नेतृत्वमा निर्माणमा महत्त्वपूर्ण टेवा पुग्ने विचार व्यक्त गरिन् ।
त्यस्तै कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले स्थानीय तहमा विकास निर्माण सामाजिक सचेतीकरण र पछाडि पारिएका समुदायका थुप्रै समस्या रहेको र ती समस्याहरू समाधान गर्न र समृद्ध र सबैको समान सहभागिता सहितको समतामूलक समाज निर्माणका लागि जनप्रतिनिधि नागरिक समाज सबैको महत्त्वपूर्ण सहकार्यत्मक अभियान सञ्चालन आवश्यक रहेकाले त्यस कार्यमा तालिम उपलब्धिमूलक रहने विश्वास व्यक्त गुरे ।
तालिम उद्घाटन सत्रमा सर्चफर कमन ग्राउण्डका अधिकृत दलबहादुर सुनार, हाम्रो नेतृत्व परियोजनाका संयोजक सचितानन्द जोशी लगायतकाले मन्तव्य राखेका थिए ।
फाया नेपालका अध्यक्ष लोकराज भट्टको अध्यक्षतामा भएको उद्घाटन सत्रको फाया नेपालका अनुगमन मूल्याकन तथा सञ्चार संयोजक शेरबहादुर बस्नेतले संचालन गरेका थिए ।
तालिममा भजनी नगरपालिका र कैलारी गाउँपालिका प्रमुख उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष सदस्यहरू सहिता ६० जना जनप्रतिनिधिहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार