१६ चैत्र २०८०, शुक्रबार

युवाकवि पाण्डेको कविता संग्रह ‘प्रश्नविचार’ बिमोचन



दार्जिलिङ । नेपाली गोर्खा मुलका युवा कवि रतन पाण्डे ‘पारतन’द्वारा लिखित कविता संग्रह ‘प्रश्नविचार’ बिमोचन भएको छ । ‘प्रश्नविचार’ पाण्डेको प्रथम कृति हो ।
दार्जिलिङस्थित नेपाली साहित्य सम्मेलनको सुर्यबिक्रम ज्ञवाली, धरणीधर शर्मा कोइराला र पारस मणी प्रधान (सुधपा) सभागृहमा सो कविता संग्रह बिमोचन गरिएको हो ।

युवा कवि पाण्डेको कविता संग्रह ‘प्रश्नविचार’ एक समारोहकाबीच सिक्किम विश्वविद्यालय नेपाली विभागका डीन तथा नारी हस्ताक्षरका डा. कविता लामा, प्रसिद्ध साहित्यकार कृष्ण प्रधान, कवि पाण्डेकी आमा शिवकुमारी क्षेत्रीलगायतले संयुक्त रुपमा बिमोचन गरेका हुन् ।
दार्जिलिङको जवाहर वस्ती भाग १ का पाण्डे रोजगारीको सिलसिलामा बिगत ११ वर्षदेखि इजरायलको रनानामा रहेका छन् । कविता संग्रह ‘प्रश्नविचार’मा पाण्डेद्वारा लिखित एक सय ०८ वटा कविता रहेका छन् ।
पाण्डेले दार्जिलिङको सौन्दर्य, समाज सचेतना, राजनीति, मानवीयता लगायतकाबारे कविता संग्रह ‘प्रश्नविचार’ सशक्त रुपमा आवाज उठाएका छन् ।
आफ्नो कविता संग्रह ‘प्रश्नविचार’को बिमोचन समारोहमा भौतिक रुपमा उपस्थित हुन नसके पनि बदलिदो प्रविधिको युगका कारण इन्टरनेटका माध्यमबाट लेखक पाण्डेको प्रत्यक्ष सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि डा. लामाले पाण्डेद्वारा लिखित कविता संग्रह ‘प्रश्नविचार’को समीक्षा गर्दै इच्छा शक्ति भएकाको ब्यस्तताका बाबजुत पनि यसो समय निकालेर पाण्डेको जस्तै साहित्य सिर्जनामा लाग्न सकिने बताइन् ।
उनले पाण्डेले पराई भूमिमा रहेर आफ्नो गाउँठाउँ र देशको बारे कविता संग्रह ‘प्रश्नविचार’मा सशक्त रुपमा आवाज उठाएर उदाहरणीय काम गरेकोमा पाण्डे सबैको धन्यवादको पात्र बनेको बताइन् ।
त्यस्तै कार्यक्रममा प्रसिद्ध साहित्यकार प्रधानले कविता संग्रह ‘प्रश्नविचार’ का लेखकर उनले लेखेका कविता बारे चर्चा गर्दै वैदेशिक रोजगारमा रहेका साहित्य अनुरागीहरुले पनि पाण्डेको जस्तै आफ्नो साहित्य यात्रालाई अघि बढाउन सक्ने धारणा राखेका थिए ।
बरदान समुहको आयोजनामा आयोजित सो बिमोचन कार्यक्रममा समाजसेवी पम्फा क्षेत्री, कवि तथा पत्रकार सबिता थापा ‘संकल्प’, साहित्यकार सुमित्रा थमी ‘अबिरल’, प्रसिद्ध गायिका सोनु राई, कवि सुमित्रा ‘गोर्खा’ लगायतको उपस्थिती रहेको थियो ।
नेपाली साहित्य सम्मेलन दार्जिलिङका अध्यक्ष सचेन राई ‘दुमी’को अध्यक्षतामा भएको बिमोचन समारोहमा गायिका सोनी राईले सरस्वती बन्दना र गायक शंकर राईघ्याईले गीत गाएका थिए भने कार्यक्रमको सञ्चालन कवि तथा पत्रकार सबिता थापा ‘संकल्प’ ले गरेकी थिइन् । त्यस्तै आयोजक बरदान समुहकी सुमित्रा थामी ‘अबिरल’ ले बिमोचन समारोह भब्यरुपमा सफल भएकोमा सबै महानुभावहरूलाई हार्दिक धन्यवाद दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार