८ बैशाख २०८१, शनिबार

कैलालीका तीनवटा स्थानीय तहमा माघ २ गते सार्वजनिक विदा



धनगढी । थारु समुदायले नयाँ वर्ष र मुख्य पर्वका रुपमा मनाउदै आएको माघीमा कैलालीका तीन वटा स्थानीय तहले माघ २ गते बुधबार सार्वजनिक विदा घोषणा गरेको छ ।कैलालीको टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले सार्वजनिक विदा दिने घोषणा गरेको हो । ती तहले कार्यपालिका बैठकको निर्णय अनुसार माघीमा दिन विदा थप गरेको बताएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले आज (मंगलबार अर्थात माघ १ गते) प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विरेन्द्र केसीले भने ‘संविधानमा स्थानीय तहले विदा दिने निर्णयको व्यवस्था छैन् ।’ उनले यसरी आफुखुशी विदा दिने निर्णयले संघियतामा प्रश्न चिन्ह खडा हुने चिन्ता व्यक्त गरे ।
टीकापुर नगरपालिकाका प्रशासकीय अधिकृत रञ्जु आचार्यले थारु समुदायको मुख्य पर्व, अरु समुदायले पनि महत्व दिएर मनाउने भएकाले टीकापुर नगरपालिकामा माघ २ मा विदा दिइएको बताइन् । सार्वजनिक विदाका दिन, स्थानीय तहका कार्यपालिका कार्यालय, वडा कार्यालयहरु र अन्य विषयगत कार्यालयहरु बन्द रहने छन् ।
थारु कल्याणकारीणी सभा र थारु नागरिक समाज कैलालीले वर्षेनी माघीमा ३ दिन विदा माग गर्दै आएका छन् । माघीका अवसरमा पुस मसान्तका दिन, माघ १ र २ गते गरी ३ दिन विदा माग गरिरहे पनि सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते मात्रै सार्वजनिक विदा दिएको छ ।
‘केही स्थानीय तहले माघ २ मा विदा दिनु स्वागतयोग्य कुरा हो’ थारु नागरिक समाज कैलालीका संयोजक दीलबहादुर चौधरीले भने, ‘प्रदेश ५ ले माघ १ र २ विदा दिएको छ, सुदूरपश्चिम प्रदेशमा पनि तराईमा थारु समुदायको पर्व र पहाडी क्षेत्रमा माघे संक्रान्ति पनि धुमधामका साथ मनाइन्छ, प्रदेश सरकारलेनै तीन दिन विदा दिनु पथ्र्यो ।’
थारु समुदायमा पुस मसान्त दिन जीता (बंगुर) मार्ने, १ गते चेलिवेटीलाई निसराउ (छोरीचेलीलाई अन्न, रुपैया)दिने र माघ २ गतेका दिन खोज्नीबोझनी (परिवारको वार्षिक जिम्मेवारी बाँडफाँड र गाउँमा बडघर, चिराकी, गुरुवा छान्ने) गर्ने गरिन्छ ।
१३ वटा स्थानीय तह रहेको कैलालीका थारु बहुल भजनी नगरपालिका, जोशीपुर गाउपालिका, कैलारी गाउपालिका र अन्य तहमा भने सुदूरपश्चिम प्रदेश सरकारले निर्णय अनुसार माघ १ मा मात्रै सार्वजनिक विदा दिइएको छ ।
टीकापुर नगरपालिकाका सामुदायिक विद्यालय भने माघ ६ गते खुल्ने भएका छन् । वर्षे विदामा सञ्चित भएको २ दिन विदा माघ ३ र ४ गते मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार