१६ चैत्र २०८०, शुक्रबार

रुस्लान थ्री स्टार सेमिफाइनलमा



धनगढी । रुस्लान थ्री स्टार तेस्रो नेपाल आइस अन्तराष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार धनगढी रंगशालामा भएको तेस्रो क्वाटरफाइनलमा च्यासल युवा क्लबलाई १–० ले पराजित गर्दै थ्री स्टार अन्तिम चारमा पुगेको हो ।खेलको सातौं मिनेटमा सुनील बलको पासमा फोडे फोफानाको प्रहारलाई च्यासलका गोलरक्षक दिनेश थापामगरले पन्च गरे । १९ औं मिनेटमा च्यासलका हेमन्त थापामगरको फ्रिकिक क्रसबारमा लागेर फर्कंदा च्यासल अग्रता लिनबाट चुक्यो ।
२८ औं मिनेटमा सुनील बलले पेनाल्टी क्षेत्रबाहिर बाट गरेको प्रहार पोस्टको भित्रि भागमा लाग्दै फर्कियो । ३९ औं मिनेटमा थ्रीस्टारका अनन्त तामाङले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारले गोलरक्षकलाई कुनै समस्या दिन सकेन ।
दोस्रो हाफको ५८ औं मिनेटमा च्यासलले अग्रता लिने सुवर्ण अवसर गुमायो । अर्मान्डको प्रहार अनन्तले ब्लक गरेपछि आएको रिबाउन्डमा सन्तबहादुर गुरुङको प्रहारले पोस्टको दिशा लिन सकेन । ८१ औं मिनेटमा रन्जन विष्टको उत्कृष्ट भली प्रहार क्रसबारमा लागेर फर्कियो । खेल सकिन तीन मिनेट समय बाँकी रहँदा थ्री स्टारका लागि रुपेश केसीले गोल गरे । च्यासलका गोलरक्षक दिनेशले सुनील बलको क्रसमा रुपेशको हेडर बचाउने प्रयास गरेपनि आफ्नै डिफेन्डर बाधक बने ।खेलमा निर्णायक गोल गरेका थ्री स्टारका रुपेश केसी आरके कन्स्ट्रक्सन म्यान अफ द म्याच बने । उनले १० हजार रुपैयाँ प्राप्त गरे । विजयी टोलीका प्रशिक्षक उज्ज्वल मानन्धरले खेलाडीले निकै मिहिनेत गरेको कारण नै जित हासिल गरेको बताए । थ्री स्टारले फाइनल प्रवेशका लागि बुधबार मेची नेत्रालय काक्करभिट्टा फुटबल ट्रेनिङ सेन्टरको सामना गर्नेछ ।
मोफसलकै सर्वा्धिक धनराशी पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ प्रत्यक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् । मंगलबार अन्तिम क्वाटरफाइनलमा सीएमजी क्लब संकटाले क्यामरुनको दाफिनास एफसीको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार