१२ बैशाख २०८१, बुधबार

वाइडबडी विमान खरिद प्रकरणमा सरकारले भ्रम छर्दैछ– देउवा



धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा वर्तमान सरकारले भ्रम छर्ने काम गरिरहेको आरोप लगाएका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका सभापति देउवाले वाइडबडी विमान खरिद प्रकरणमा सरकारले आफ्नो गल्ती ढाकछोप गर्न विभिन्न प्रपञ्च रचिरहेको बताए । उनले सो प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट गरे ।
आइतबार धनगढी विमानस्थलमा पत्रकारहरूस“ग कुराकानी गर्दै सभापति देउवाले वाइडबडी विमान खरिदसम्बन्धी सबै प्रक्रिया तथा निर्णयहरू यसअघिको केपी ओली नेतृत्वको सरकारकै पालामा भएको बताए ।
वाइडबडी विमान खरिदसम्बन्धी प्रकरणबारे भएका प्रक्रिया र निर्णयहरूको लिखित रूपमा नै जानकारी दिँदै सभापति देउवाले पत्रकारहरूसँग भने– “२०७२ साल असोज २१ गते वाइडबडी विमान खरिद गर्ने निर्णय भएको थियो । त्यतिबेला प्रधानमन्त्री केपी ओली नै थिए । त्यस्तै २०७३ साल बैशाख २ गते केपी ओली नेतृत्वको सरकारकै पालामा सो विमान खरिदको बोलपत्र गरिएको थियो ।”
उनले आफू प्रधानमन्त्री भएका बेला वाईडबडी विमान खरिदबारे कुनै निर्णय वा प्रक्रिया नभएको बताए । उनले उल्टै प्रश्न गरे– “म प्रधानमन्त्री भएको बेला वाइडबडी विमान खरिद सम्बन्धी न त कुनै निर्णय भयो, न कुनै प्रक्रिया नै अघि बढेको थियो । अनि यो प्रकरणमा मेरो कसरी संलग्नता भयो । यो सबै वर्तमान सरकारको जनतालाई भ्रम पार्ने खेल मात्रै हो ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार