१५ चैत्र २०८०, बिहीबार

नेपाल पुलिस खप्तड गोल्डकपको सेमिफाइनलमा



धनगढी । मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले पराजित गर्दै नेपाल पुलिस क्लब तेस्रो नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।निकै प्रतिस्पर्धात्मक खेलको ११ औं मिनेटमा हेमन गुरुङले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले दोस्रो प्रयासमा नियन्त्रण गरे । २९ औं मिनेटमा तीर्थ रानाले २५ यार्ड टाढाबाट गरेको प्रहार क्रसबारमा लागेर फर्कंदा पुलिस अग्रता लिनबाट वञ्चित भयो ।
दोस्रो हाफमा आक्रामक देखिएको पुलिसका लागि सुरुवाती मिनेटमा निरकुमार राईको प्रहारले पोस्टको दिशा लिन सकेन । ६२ औं मिनेटमा हेमन गुरुङको क्रसमा मोहमद आसिफको हेडरलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले बचाए ।
खेलको ६८ औं मिनेटमा पुलिसले अग्रता लियो । तेज तामाङको कर्नरमा रिबाउन्ड भएको बललाई निरकुमारले पेनाल्टी क्षेत्रभित्रबाट शक्तिशाली भली प्रहारमा गोल गरे । ८० औं मिनेटमा पुलिसका अब्दु करीमको प्रहार क्रसबारभन्दा थोरै माथिबाट बाहिरियो ।
पराजित टोलीका प्रशिक्षक तोपे फुजाले लिग सकिएपछि खेलाडीले विश्राम नपाएका कारण फिटनेसमा समस्या देखिएको बताए । निर्णायक गोल गरेका निरकुमार खेलको आरके कन्स्ट्रक्सन म्यान अफ द म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे । यस जीतसँगै पुलिसले प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ । पुलिसले अब सेमिफाइनलमा सीएमजी संकटा र क्यामरुनको धाउफिन्स एफसीको विजेतासँग खेल्नेछ । धाउफिन्स प्रतियोगितामा सहभागी हुन नेपाल आइसकेको जानकारी प्रतियोगिताका प्रवक्ता ओमविक्रम चन्दले बताए ।
मोफसलकै सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ प्रत्यक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् । सोमबार तेस्रो क्वाटरफाइनलमा भ्याली च्यासल युवा क्लब र रुस्लान थ्री स्टार भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार