१३ बैशाख २०८१, बिहीबार

सहकारी ऐन निर्माणको तयारी भइरहेको छ– नगर प्रमुख वड



धनगढी । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले सहकारी संस्थाहरूको व्यवस्थापनका लागि कानून निर्माणबारे तयारी भइरहेको बताएका छन् ।
लक्ष्मी वचत तथा ऋण सहकारी संस्थाको शनिबार नवौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै नगर प्रमुख वडले कानून निर्माणका लागि छलफल अघि बढाइएको बताए ।
उनले सहकारी ऐन निर्माणबारे प्रदेश सरकारसँग पनि छलफल गरिएको बताए । उनले अव्यवस्थित रूपमा रहेका सहकारी संस्थाहरूलाई एकापसमा गाभ्ने नीति समेतमा छलफल भइरहेको बताए । उनले भने– “सहकारी ऐनको दायरा फराकिलो बनाउनु पर्छ भन्नेमा हामी स्पष्ट छौं ।”
कार्यक्रममा नेशनल कोअपरेटर्स एलायन्स नेपालका केन्द्रीय सदस्य भोज बमले सहकारीको विकास नै राष्ट्रको विकास भएको बताए । उनले स्थानीय तथा प्रदेश सरकारसँग सहकारी सम्बधी नीति र कानून चाडो निर्माण गर्न आग्रह गरे ।
कार्यक्रम सहकारी संस्थाका अध्यक्ष राकेशमान कर्माचार्यको अध्यक्षतामा भएको थियो ।

राष्ट्रसेवक सहकारीको साधारण सभा
धनगढी । राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा शनिबार धनगढीमा भएको छ ।
साधारण सभामा विभिन्न व्यक्तिलाई सम्मान गर्नुका साथै दृष्टि फाउडेशनलाई नगद पुरस्कार प्रदान गरियो ।
सभामा सहकारीले जेष्ठ नागरिकहरू नरबहादुर बोहरा र लताकुमारी श्रेष्ठ, नियमित वचतकर्ताहरू चेतराज भट्ट र देवलक्ष्मी गुरुङ, असल ऋणीहरू टेकबहादुर मगर र मीना थापाक्षेत्रीलाई सम्मान गरेको थियो ।
शेयर सदस्यका छोराछोरीमध्ये गत वर्षको एसर्ईई परीक्षामा उत्कृष्ट अंक सहित उत्तीर्ण भएका रोजिनाकुमारी साउँद र एलिशा बिष्टलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।
त्यस्तै, दृष्टि फाउण्डेशनलाई २५ हजार रुपैयाँसहित सम्मान गरियो ।
चार सय पाँच जना शेयर सदस्य रहेको सहकारी संस्थाको शेयर पुँजी आर्थिक वर्ष २०७४÷०७५ सम्म ३२ लाख ९४ हजार तीन सय रुपैयाँ रहेको छ ।
साधारण सभाको प्रदेश सभा सदस्य तथा राष्ट्रिय सहकारी संस्था महासंघका सञ्चालक तारा लामा तामाङले उद्घाटन गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष भरतबहादुर केसीको अध्यक्षतामा भएको थियो ।
साधारण सभामा नेपाल ऋण तथा वचत सहकारी संस्था केन्द्रीय महासंघका सञ्चालक माधवप्रसाद जोशी, महासंघका फिल्ड कार्यालय कञ्चनपुरका सञ्चालक भूपेन्द्र थापा, सल्लाहकार हरिलाल जोशी, नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनका जिल्ला अध्यक्ष श्यामप्रसाद जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा संस्थाका सचिव देवराज पन्तले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सञ्जीवनी सहकारीको अध्यक्षमा भट्ट
धनगढी । सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था धनगढीको सातौं साधारणसभाबाट कृष्णराज भट्टको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । शनिबार धनगढीमा भएको सातौं साधारणसभाबाट उपाध्यक्षमा बलराम भट्ट, सचिव भक्तराज जोशी, कोषाध्यक्ष धर्मराज जोशी चयन भएका छन् ।
सदस्यहरुमा क्रमश ः दिलबहादुर धामी, गगनसिं ऐर, चेतराज जोशी, लक्ष्मी कुमारी पाठक रमेश जोशी, रामचन्द्र भट्ट, प्रदिप शाही र रोशन महरा क्षेत्री चयन भएका छन् ।
सहकारी संस्थाका कार्यबहाक अध्यक्ष कृष्णराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा कैलाली बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख डा. पदमराज जोशी, ऋषिराज जोशी, रामबहादुर शाहीले मन्तव्य व्यक्त गरेका थिए भने स्वागत मन्तव्य गगनसिं ऐरले गरेका थिए ।
यसैगरी सहकारी संस्थाको ऋण उपसमितिको संयोजकमा कविराज जोशी, लेखा समिति संयोजकमा टंकप्रसाद जोशी, शिक्षा उपसमितिको संयोजकमा धनबहादुर बोगटी रहेका छन् । कार्यक्रमको प्रमुख अतिथिमा साहित्यकार रामलाल जोशी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार