१६ चैत्र २०८०, शुक्रबार

विभिन्न व्यक्तिलाई सम्मान गर्दै राष्ट्र सेवक सहकारीको साधारणसभा सम्पन्न



धनगढी । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा शनिबार धनगढीमा सम्पन्न भएको छ ।
सो अवसरमा सहकारीले विभिन्न व्यक्तिहरुलाई सम्मान गर्नुका साथै दृष्टि फाउडेशनलाई नगद पुरस्कार दिएको छ । जेष्ठ नागरिकहरु नरबहादुर बोहरा र लताकुमारी श्रेष्ठ, नियमित बचतकर्ताहरु चेतराज भट्ट र देवलक्ष्मी गुरुङ, असल ऋणीहरु टेकबहादुर मगर र मिना थापाक्षेत्रीलाई सम्मान गरेको हो । शेयर सदस्यका छोराछोरी मध्ये गतवर्षको एसर्ईईमा उत्कृष्ट अंक ल्याउने रोजिनाकुमारी साउँद र एलिसा विष्टलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार दिएको छ । असहाय महिलाहरुलाई साथ दिने दृष्टि फाउण्डेशनलाई २५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

चार सय पाँच जना शेयर सदस्य रहेको सहकारी संस्थाको शेयर पुँजि आर्थिक वर्ष २०७४/०७५ सम्म ३२ लाख ९४ हजार तीन सय रुपैयाँ छ भने ६८ लाख ९४ हजार तीन सय ११ रुपैयाँ बचत संकलन गरेको छ । सहकारीले एक करोड दश लाख १६ हजार सात २५ रुपैयाँ ऋण लगानी गरेको छ ।
सहकारीको साधारण सभा उद्घाटन प्रदेश सभा सदस्य, नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका प्रमुख सचेतक तथा राष्ट्रिय सहकारी संस्था महासंघका सञ्चालक तारा लामातामाङले गरेका थिए । सहकारीका अध्यक्ष भरथबहादुर केसीको अध्यक्षतामा सम्पन्न साधारण सभामा नेपाल ऋण तथा बचत सहकारी संस्था केन्द्रीय महासंघ (नेफ्स्कुन) का केन्द्रीय सञ्चालक माधवप्रसाद जोशी, महासंघका फिल्ड कार्यालय कञ्चनपुरका सञ्चालक तथा सहकारीका सहल्लाहकार भूपेन्द्र थापा, सहकारीका सल्लाहकार हरिलाल जोशी, नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनका कैलाली जिल्ला अध्यक्ष श्यामप्रसाद जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए । सहकारीका सचिव देवराज पन्तले साधारण सभामा सहकारीको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार