१५ चैत्र २०८०, बिहीबार

कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा उत्साहजनक मतदात हुँदै (भिडियाेसहित)



धनगढी । कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा अाज बिहानैबाट मतदान शुरु भएको छ ।
लामो समयदेखि फर्जि सदस्य बनाएको विवादमा परेको संघको सदस्यता छानविनपछि भइरहेको निर्वाचनमा संघका सदस्यहरुले उत्साहका साथ मतदान गरिरहेका हुन् । धनगढीमा बिहानैदेखि मतदान शुरु भएपनि दिउँसो मतदाताहरुको भिड बढेको छ । निर्वाचन समितिका अनुसार मध्यान्नसम्म आठ सय मत परेका छन् । छानविनपछि संघका दुई हजार सात सय २५ जना सदस्य कायम भएका छन् ।
मतदान साँझ ४ बजेसम्म हुने समय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले सकेसम्म मतदान लगत्तै मतगरणा पनि शुरु गरिने छ ।
संघको निर्वाचनका लागि मतदान स्थलमा स्थानीय सुरक्षा प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । निर्वाचनपछि संघको सुद्धिकरण र व्यवसायिक हितमा संघले काम गर्ने संघका सदस्यहरुले विश्वास लिएका छन् ।यसैगरी, संघको ४६ औं वार्षिक साधारण सभा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले उद्घाटन गरेकी थिइन् । संघका अध्यक्ष शंकर बोगटीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा महासचिव रुपेश स्वाँरले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष पुष्प कुँवरले लोखा परीक्षण प्रतिवेदन पेश गरेका थिए ।

अध्यक्ष पदका उम्मेदवारहरू त्रमशः पुष्प कुँवर, डिल्लाराज अवस्थी र रूपेश स्वाँर ।

पुष्पराज कुँवर,रूपेश स्वाँर र डिल्लीराज अवस्थीको प्यानल संघको चुनावी प्रतिस्पर्धामा छन् ।
अध्यक्षका उम्मेदवार कुँवरको वाणिज्य उपाध्यक्षमा गगन केसी, उद्योग उपाध्यक्षमा पुष्करराज ओझा, वस्तुगत उपाध्यक्षमा शिवराज कुँवर, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा दिनेश लम्साल र सचिवमा सिद्धराज पनेरुले उम्मेदवारी दिएका छन् ।
कुँवरको प्यानलबाट सदस्यमा तिलक चन्द्र खतिवडा, टोपवहादुर केसी, मनोज अग्रवाल, केशवराज जोशी, लक्ष्मणदत्त पन्त, मिलन कुँवर, शिवराज सापकोटा, सुरेन्द्रकुमार वोहोरा, गौतम महतो, राधिका चौधरी र महेन्द्र सिंहले उम्मेदवारी दिएका छन् ।

कुँवरको प्यानलले गत बैशाखमा हुने भनिएको चुनावमा घोषणा गरेको टीमलाई नै अगाडि सारेर उम्मेदवारी दिएको हो । त्यति बेलाका दुई जना सदस्य उपस्थित हुन नसक्ने भएपछि राधिका चौधरी र महेन्द्र सिंहलाई सदस्यमा उम्मेदवार बनाएको सविचका उम्मेदवार सिद्धराज पनेरूले बताए ।
अध्यक्षका उम्मेदवार कुँवरले व्यवसायीहरुको एकता, हकहित संरक्षण र सुदूरपश्चिमको विकास र आर्थिक समृद्धिको एजेण्डा लिएर आफ्नो टीम चुनावी मैदानमा आएको बताए । उनले आफूलाई गोपाल हमाल, दिनेश भण्डारी, कर्ण कुँवर लगायत पूर्वाध्यक्षहरु र व्यवसायीहरुको साथ रहेको हुनाले प्यानल सहितको जीत सुनिश्चित भइरहेको बताए । उनले सबै व्यवसायीहरुलाई समेतेर अगाडि बढ्ने र व्यवसायिक हितको लागि काम गर्ने आफ्नो प्रमुख एजेण्डा रहेको बताए ।
अध्यक्ष पदका अर्का उम्मेदवार स्वा“रको प्यानलबाट वाणिज्य उपाध्यक्षमा गजराज पाण्डेय, उपाध्यक्ष उद्योगमा टेकवहादुर खड्का, वस्तुगत उपाध्यक्षमा अनिलकुमार भुजानिया, महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा भीष्मराज ओझा र सचिवमा सुजित शर्मा उम्मेदवारी दिएका छन् । सदस्यमा तिलक वोहोरा, रूपेश खड्का, श्यामराज जोशी, शिव सोव, दुर्योधन स्वर्णकार, भरत थापा, सीता भट्टराई, बसन्त भट्ट, रवि कु“वर, नृपप्रसाद चौधरी र निरज वोहोरा उम्मेदवारी दिएका छन् ।

स्वाँर नेतृत्वको प्यानलले औद्योगिक क्षेत्रको स्थापना, विशेष आर्थिक क्षेत्र घोषणा र सञ्चालन, साना तथा मझौंला व्यावसायीहरूलाई करछुटको व्यवस्था तथा व्यवसायीहरूको भौतिक तथा पेसागत सुरक्षा प्रमुख प्रतिवद्धताका जनाएको छ । धनगढी, लम्की, भजनी, सुखड, अत्तरिया, जोशीपुर, बौनिया, चौमाला, मसुरिया, पहलमानपुर लगायतका बजारमा सिसिटिभी जडान, गौरीफन्टा सीमानाकाको स्तरन्नोति, धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा स्तरोन्नती, मोहना–अत्तरिया छ लेन सडकको निर्धारित समयमा निर्माण कार्य पूरा गर्नुपर्ने, हुलाकी राजमार्गको निर्माण कार्य पनि प्रमुख मुद्दाको रूपमा अगाडि सारेको छ ।त्यसैगरी, अध्यक्षका उम्मेदवार अवस्थीको प्यानलबाट वाणिज्य उपाध्यक्षमा इन्द्रबहादुर सेठी, उद्योग उपाध्यक्षमा रामचन्द्र रानाथारु, वस्तुगत उपाध्यक्षमा बासुदेव भट्ट, महासचिवमा नवराज रेग्मी, कोषाध्यक्षमा शैलेन्द्र श्रेष्ठ र सचिवमा जयराज न्यौपानेले उम्मेदवारी दिएका छन् । अवस्थीको प्यानलबाट सदस्यमा रोशन मधकर्मी, गजेन्द्र खड्का, पदमराज पाठक, शंकरप्रसाद चौधरी, केशवसिंह कार्की, सरस्वती चौधरी र प्रमिला पाठकले उम्मेदवारी दिएका छन् । संघको कार्य समितिमा ११ जना सदस्य रहने व्यवस्था भएपनि अवस्थीको प्यानलबाट सात जनाले मात्रै सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।
अध्यक्षका उम्मेदवार अवस्थीले उद्योग वाणिज्य संघको सुद्धिकरण, व्यवसायीहरुको सुरक्षाका लागि विमा, बजार क्षेत्रको घरभाडाको समस्यालाई समाधान र परिवारलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने एजेण्डा लिएर चुनावी मैदानमा आएको बताए । उनले प्रदेशको आर्थिक समृद्धिका लागि समेत आफ्नो प्यानलले काम गर्ने बताए । उनले विसुद्ध रुपमा व्यवसायिक हकहित संरक्षणकै लागि आफ्नो टीमले काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार