११ बैशाख २०८१, मंगलवार

सरकारले संसदको अपमान गरेको छ– नेता सिंह



धनगढी । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले वाइडबडी विमान खरिद प्रकरणमा सरकारले संसदको सर्वोच्चतामाथि प्रहार गर्नुका साथै अपमान गरेको आरोप लगाएका छन् ।
“वाइडबडी विमान खरिदमा अर्बौ रुपैयाँ अनियमिता भएको भन्ने संसदीय उपसमितिको निष्कर्षलाई चुनौति दिएर सरकारले अर्को छानविन आयोग बनाएको छ” शुक्रबार नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले भने– “यो मुद्दा पहिल्यै उठिसकेको थियो । सरकारले त्यतिबेलै छानबिन आयोग वा समिति बनाउन सक्थ्यो, गरेन । जब संसदले यो प्रकरणमा हात हाल्यो र छानबिन गरेर प्रतिवेदन दियो, अनि सरकारले उपसमितिलाई नै चुनौति दिएर छानबिन आयोगको नाटक गरेको छ ।”
नेता सिंहले वर्तमान सरकार नारामा मात्रै सुशासनको कुरा गर्ने तर व्यवहारमा घोर भ्रष्ट रहेको दावी गरे । “यो सरकार दुई तिहाई बहुमतबाट बनेको छ, तर जनता र राष्ट्रको हितमा एउटै पनि ठोस कार्य गर्न सकेको छैन” उनले भने– “प्रधानमन्त्री केपी ओलीले संसदमा पटकपटक झुठो तथ्यांक प्रस्तुत गरेका छन् ।”
उनले वर्तमान सरकार मुलुकमा शान्तिसुरक्षा, जनताको जीउधनको सुरक्षा, अपराधिलाई कानूनी कारवाहीको दायरामा ल्याउने लगायतका कार्यमा निकै कमजोर रहेको आरोप लगाए ।
पत्रकारहरूको एक जिज्ञासामा उनले प्रमुख प्रतिपक्षका रूपमा काँग्रेसले संसदमा सशक्त भूमिका निर्वाह गरिरहेको बताए । भने– “ज्वलन्त राष्ट्रिय मुद्दाहरूमा का“ग्रेसले जिम्मेवारपूर्वक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको छ । हामीले आफ्नो कुरा संसद र शान्तिपूर्ण ढंगले सडकमा राख्ने हो । नेकपा वा तत्कालीन एमाले र माओवादी जस्तो संसदभित्र तोडफोड गर्ने, माइक भाच्ने, रेलिङ भत्काउने जस्ता अराजक काम काँग्रेसले गर्दैन ।”
एक अर्को जिज्ञासामा उनले नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको अहिलेकै निर्वाचित समितिले महाधिवेशन गरोस भन्ने कामना रहे पनि काम नगर्ने नेविसंघको वर्तमान कार्यसमितिको म्याद भने थप्न नहुने बताए । अहिलेको समितिले महाधिवेशन गर्न नसक्ने भएकाले तत्कालन महाधिवेशन तयारी समिति गठन गरी स्ववियू निर्वाचनलाई पनि ध्यान दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार