८ बैशाख २०८१, शनिबार

उच्चपहाडी क्षेत्रमा डिप ट्यूवेलबाट पानी (भिडियोसहित)



धनगढी । उच्चपहाडी क्षेत्रमा डिप ट्यूवेलबाट पानी निकालियो भन्दा धेरैलाई आश्चर्य लाग्ला, तर डोटीको बडीकेदार गाउँपालिकामा डिप ट्यूवेलबाट पानी निकालिएको छ ।बडीकेदार गाउँपालिकाको वडा नम्बर २, खडेउलीमा डिप ट्युवेलबाट पानी निकालिएको छ । पहाडी क्षेत्रमा डिप ट्युवेलबाट पानी निस्केपछि हेर्ने आउने स्थानीयबासीको भीड लागेको छ । गाउँपालिकाले ४१ लाख रुपैयाँ खर्च गरेर डिप ट्यूवेलबाट पानी निकालेको जनाइएको छ ।
डिप ट्यूवेल निर्माण गर्ने एलवी डिलिङ कम्पनी प्रालि धनगढीका सञ्चालक दिनेश भट्टका अनुसार १५ दिनको प्रयासबाट बुधबार पानी निकाल्न सफलता प्राप्त भएको हो । उनका अनुसार डिप ट्यूवेलबाट प्रतिसेकेन्ड पा“च लिटर पानी आउने गरेको छ ।

समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको खडेउली गाउँमा दुई सय आठ मिटर गहिरो डिप ट्युवेल गाडेर पानी निकालिएको भट्टले बताए । बडिकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपकराज पाण्डेयले डिप ट्युवेलबाट निकालिएको पानी ट्यांकी बनाएर जनतालाई वितरण गर्ने योजना रहेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले सो क्षेत्रमा सधै खानेपानीको अभाव हुने भएकोले डिप ट्युवेलबाट पानी निकालिएको बताए । “उच्च पहाडी क्षेत्रमा डिप ट्यूवेलबाट पानी आउछ कि आउदैन भन्ने द्विविधा थियो, तर मज्जाले पानी निस्केपछि निकै सन्तोष लागेको छ” भट्टले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार