७ बैशाख २०८१, शुक्रबार

फोहोरबाट स्वरोजगारी



धनगढी । आम मानिसले फोहोर भन्ने वित्तिकै दुर्गन्ध भनेर बुझ्छन् । जथाभावी रूपमा जहातही फोहोर फाल्दा वातावरण तथा मानव स्वास्थ्यमा नकारात्मक असर पु¥याउँछ भन्ने आम मानिसको सामान्य बुझाई रहेको छ । तर, देशका केही स्थानमा भने फोहोरलाई व्यवस्थापन गरेर आम्दानीसँगै स्थानीयलाई स्वरोजगार पनि बनाइएको छ ।
नेपालको पोखरा, धनकुटा, नेपालगञ्ज, दाङ सहितका जिल्लाका केही स्थानीय तहले फोहोर व्यवस्थापन गरेर स्थानीयलाई रोजगारी प्रदान गर्नुका साथै आन्तरिक आयस्रोत पनि बृद्धि गरेको छ ।
पोखरा महानगरपालिकाले वडा नम्बर १८, बाच्छेवुडुवामा १५ वर्षदेखि फोहोर व्यवस्थापन गर्दै आएको छ । २०६१ सालमा साढे १४ करोड रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको सो फोहोर व्यवस्थापन केन्द्रले शुरुमा दैनिक २५ टन फोहोर संकलन गर्दै आएकोमा अहिले दैनिक दुई सय ५० टन फोहोर संकलन गर्दै आएको छ । पोखरा महानगरपालिकाले फोहोरबाट वार्षिक आठ लाख रुपैयाँ आम्दानी गर्दै आएको छ । महानगरपालिकाले डम्पिङ साइट वरपरका स्थानीयलाई आत्मनिर्भर बनाउने प्रयास समेत गरिरहेको छ । फोहोर व्यवस्थापन भइरहेको स्थानमा तथा स्थानीय तहमा प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारी दिइएको पोखरा महानगरपालिकाको फोहोर प्रशोधन केन्द्रमा फोहोर व्यवस्थापन गर्दै आएका रेशम बिसीले जानकारी दिए । रेशमका अनुसार महानगरपालिकाले १९ प्रकारका फोहोर विक्री वितरण गर्दै आएको छ ।
उनका अनुसार प्रभावित क्षेत्रका स्थानीयलाई सडक, विद्युत, खानेपानीको व्यवस्थासहित आर्थिक रूपमा आत्मनिर्भर बनाइएको छ । फोहोर प्रशोधन केन्द्रमा काम गरिरहेका प्रभावित क्षेत्रका स्थानीयहरूले मासिक १० हजारदेखि १५ हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । उनले भने– “महानगरपालिकाले सड्ने र नसड्ने दुवै प्रकारका फोहोरलाई व्यवस्थापन गर्दा दुर्घन्ध फैलिन पनि कम भएको छ ।”
त्यस्तै, पूर्वको धनकुटा नगरपालिकाले पनि १२ वर्ष अघि देखिफोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ । नगरपालिकाले नसड्ने फोहोरलाई व्यवस्थापन गर्दै २०६६ सालमा पार्कका रूपमा स्थापना गरेको छ । नसड्ने फोहोरलाई जमिनमुनि गाडेर त्यसमाथि विभिन्न जातका फूल तथा काठका आकर्षक मूर्ति लगायतका सामग्री राखेर आकर्षित पार्कका रूपमा विकास गरिएको छ ।
नगरपालिकाका वातावरण प्रमुख उपेन्द्र खनालले भने– “स्थानीयहरूले सड्ने फोहोर घरमै व्यवस्थापन गर्छन् भने नसड्ने फोहोरमात्र घरमा जम्मा गरेर फोहोर संकलन गर्ने गाडीमा पठाउँछन् ।” उनले नगरपालिकाले फोहोरबाट वार्षिक ४० हजार रुपैयाँ आम्दानी गरिरहेको बताए । उनका अनुसार धनकुटाका स्थानीयहरूले नसड्ने फोहोरबाट प्रांगारिक मल बनाएर खेतीमा प्रयोग गर्दै आइरहेका छन् ।
अहिले धनकुटा नगरपालिका फोहोर व्यवस्थापनमा देशभरीका स्थानीय तहमा उदाहरणीय बनेको छ । धनकुटा नगरपालिकाको फोहोर व्यवस्थापन अवलोकन गर्न तीन जना उपप्रधानमन्त्री, थुप्रै मन्त्री, संघीय मामिला तथा स्थानीय मन्त्रालयका सचिव, महानिर्देशक, चितवन महानगरपालिका, कैलालीको गोदावरी नगरपालिका, धनगढी उपमहानगरपालिका लगायत अन्य स्थानीय तहका जनप्रतिनिधि, विद्यार्थी, अध्ययनकर्ता आदि पुगिसकेको उनले बताए ।
दाङको घोराही नगरपालिकाले पनि अहिले प्रभावकारी ढंगले फोहोर व्यवस्थापन गर्दै आएको छ । विभिन्न उपकरणहरू थपेर फोहोरलाई आम्दानीको स्रोतमा परिणत गर्न घोराही नगरपालिका अघि बढेको फोहोर व्यवस्थापन केन्द्रका व्यवस्थापक देउमान दमाईले बताए । उनले फोहोर व्यवस्थापन केन्द्रले सड्ने र नसड्ने फोहोरलाई विभिन्न तरिकाले व्यवस्थापन गर्दै अघि बढेको बताए ।
नेपालगञ्ज उपमहानगरपालिकामा पनि आधुनिक फोहोर व्यवस्थापन केन्द्र निर्माणाधिन अवस्थामा रहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले एसियन विकास वैंकको आर्थिक सहयोगमा १३ बिघामा व्यवस्थित फोहोर प्रशोधन केन्द्र निर्माण गर्न लागेको छ । फोहोर व्यवस्थापन केन्द्र निर्माणमा खटिएका इन्जिनियर अशोक पाण्डेले भने– “यहाँ संकलन तथा व्यवस्थापन गरिने फोहोरले न त वातावरणमा असर गर्छ न मानिसमने स्वास्थ्यलाई नै । हामीले सबै प्रविधि प्रयोग गरेर काम गरिरहेका छौं ।” सो केन्द्रले सड्ने, नसड्ने र पुनःप्रयोग गर्न सकिने तीन प्रकारका फोहोरहरू संकलन गर्ने जनाइएको छ ।
कैलालीको गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकामा पनि आधुनिक फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्ने तयारी भइरहेको छ । धनगढीमा फोहोर व्यवस्थापन केन्द्र बनाइने स्थानका स्थानीयहरूको विरोधका कारण प्रक्रिया भने अघि बढ्न सकेको छैन् । स्थानीयहरूले वातावरण तथा मानिसको स्वास्थ्यमा प्रशोधन केन्द्रले असर पु¥याउने भन्दै सो स्थानमा फोहोर प्रशोधन केन्द्र निर्माण नगर्न माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार