१३ बैशाख २०८१, बिहीबार

वेवास्ताका कारण नसर्ने रोगको समस्या बढ्दो



धनगढी । मानिसको वेवास्ताका कारण पछिल्ला वर्षहरूमा नेपालमा नसर्ने रोगका रोगीको संख्यामा निरन्तर बृद्धि भइरहेको छ ।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले बुधबार धनगढीमा आयोजना गरेको स्वास्थ्य अधिकार हनन् सम्बन्धी घटना, अध्ययन तथा पुनरावलोकन तथा नसर्ने रोगका रोकथामसम्बन्धी अन्तरक्रियामा सहभागी स्वास्थ्यकर्मीहरूले नियमित चेकजाँच नगर्ने र खानपिनमा ध्यान नदिँदा नेपालमा नसर्ने रोगका रोगीको संख्या बढिरहेको बताए ।
“अधिकांस मानिस नियमित रूपमा सामान्य स्वास्थ्य जाँच पनि गराउँदैन चाहन्नन्” कार्यक्रममा प्रस्तुतिकरण गर्दै जनस्वास्थ्य अधिकृत जानकी पराजुली मिश्रले भनिन्– “उच्च रक्तचाप, गुलुकोज लगायतका चेकजाँच नियमित गराउनुपर्छ ।” उनले नेपालमा ८९ प्रतिशत व्यक्तिले रक्तचाप चेकजाँच नगर्ने, आधा जनसंख्यामा रक्तचाप देखिए पनि ९० प्रतिशत व्यक्ति उपचार पद्धतिमा आउन नचाहने गरेको जानकारी दिइन् ।
जनस्वास्थ्य अधिकृत जानकीका अनुसार नेपालमा कुल विरामी संख्यामध्ये ६६ प्रतिशत नसर्ने रोगबाट पीडित रहेको बताइन् । उनले सूर्तीजन्य पदार्थ प्रयोग, अस्वस्थ खानपान, अप्रयाप्त शारीरिक स्वास्थ्यता, मदिरापानको हानीकारक प्रयोगका कारण मानिस नसर्ने रोगबाट पीडित हुने गरेको बताइन् ।
धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र बमले नसर्ने रोगबाट बच्न नियमित व्यायम गर्नुपर्ने, स्वस्थ खानपानको प्रयोग गर्नुपर्ने, नियमित चेकजाँच गराउनुपर्ने बताए ।
राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश प्रमुख झंकर रावलले मानिसको रहनसहन र खानपान परिवर्तन हुँदै जादा नसर्ने रोगका विरामी बढ्दै गएको बताए । उनले सर्ने भन्दा नसर्ने रोगका कारण पछिल्लो समय मृत्यु हुनेको संख्या बढ्दै गएको पनि बताए ।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र सुदूरपश्चिम संयोजक कृष्णबहादुर देउवाले स्वागत गरेको कार्यक्रमको सञ्चालन कैलाली संयोजक देवी थापाले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार