११ बैशाख २०८१, मंगलवार

आजदेखि वीर गणेशमान बक्सिङ



धनगढी । वीर गणेशमानसिंह बक्सिङ प्रतियोगिताको छनौट चरण आजदेखि धनगढीमा शुरु हुने भएको छ ।
गणेशमानसिंह फाउण्डेसन र राष्ट्रिय खेलकुद परिषद काठमाडौंको आयोजनामा धनगढीमा तीन प्रदेशका खेलाडीहरूको छनौट गरिने बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगिता आयोजक समितिका संयोजक राजिव श्रेष्ठले प्रदेश नम्बर ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका बक्सिङ खेलाडीहरूको धनगढीमा छनौट गरिने जानकारी दिए । उनले प्रदेश नम्बर ५ र कर्णाली प्रदेशमा बक्सिङ खेल प्रतियोगिता सञ्चालन गर्न मैदानको अभावका भएका कारण तीन प्रदेशको छनोट प्रतियोगिता धनगढीमा आयोजना गरिएको बताए ।
छनौट प्रतियोगिताको गणेशमान फाउण्डेशनका अध्यक्ष प्रकाशमान सिंहले उद्घाटन गर्ने जनाईएको छ । संयोजक श्रेष्ठले प्रदेश नम्बर १ को बिराटनगर, प्रदेश २ र ३ को काठमाडौं र प्रदेश ४ को पोखरामा छनौट प्रतियोगिता भइसकेको जानकारी दिए ।
संयोजक श्रेष्ठका अनुसार प्रत्येक प्रदेशबाट १४ जना खेलाडी छनौट हुने र माघ २२ देखि २६ गतेसम्म काठमाडौंमा राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गरिने बताए । प्रतियोगितामा सात वटै प्रदेशका खेलाडी र तीन वटा विभागीय टीमको सहभागिता रहने छ ।
प्रतियोगितामा पुरुषतर्फ आठ वटा तौल समूह तथा महिलातर्फ छ वटा तौल समूहका खेल हुनछन् । संयोजक श्रेष्ठका अनुसार प्रतियोगितामा गोल्ड मेडल प्राप्त गर्ने खेलाडीले २५ हजार, सिल्भर मेडलले २५ हजार, तथा रजत र काश्य पदक प्राप्त गर्ने दुई जनाले सात हजार पाँच सय रुपैयाँ पुरस्कार पाउने छन् । भने प्रतियोगिताको महिला तथा पुरुष उत्कृष्ट खेलाडीले एकएक मोटरसाइकल प्राप्त गर्ने छन् ।
छनोट प्रतियोगितामा तीन प्रदेशका गरी एक सय बढी खेलाडीले भाग लिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार