१३ बैशाख २०८१, बिहीबार

एम्बुलेन्स चालक संघद्वारा घाइते बालकलाई सहयोग



धनगढी । कैलाली एम्बुलेन्स चालक संघले एक घाइते बालकको उपचारको लागि आर्थिक सहयोग गरेको छ ।
गत ६ गते डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रडुवामा भएको बस दुर्घटनामा घाइते भएका डोटीका नौ वर्षीय नविन विकको उपचारका लागि संघले १० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । संघले सो रकम नेपाल पत्रकार महासंघ कैलाली शाखामार्फत घाइते बालकलाई प्रदान गरेको छ । मंगलबार एक संक्षिप्त कार्यक्रममा एम्बुलेन्स चालक संघका अध्यक्ष लक्ष्मणबहादुर सिंहले नेपाल पत्रकार महासंघ, कैलालीका निवर्तमान अध्यक्ष भरत शाह, सचिव मीन ठकुरी र कोषाध्यक्ष हिमाल जोशीलाई संयुक्त रूपमा रकम हस्तान्तरण गरेका थिए ।
एम्बुलेन्स चालक संघका अध्यक्ष सिंहले सामाजिक सेवा अन्तर्गत सो रकम प्रदान गरिएको बताए । संघमा आवद्ध रहेका सदस्यहरूले एक दिनको खाना खर्च वाफतको रकम संकलन गरेका थिए । संघमा ५० जना सवारी चालकहरूको आवद्धता रहेको छ ।
अध्यक्ष सिंहका अनुसार विकको बुबाले छोडेको र आमा सोही दुर्घटनामा परि मृत्यु भएपछि बालकको उपचारमा केही सहयोग पुगोस भन्ने उद्देश्यले सो रकम दिएको बताए ।
नेपाल पत्रकार महासंघ कैलालीका सचिव ठकुरीले सो रकम पत्रकार महासंघ डोटी शाखामार्फत पीडित बालकसम्म पु¥याइने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार