१५ चैत्र २०८०, बिहीबार

धनगढीमा भुवो खेलिने



धनगढी । बाजुरा सेवा समाजले विगतमा झै यसपटक पनि धनगढीमा भुवो खेल्ने भएको छ ।
समाजका अध्यक्ष सन्तोष थापा (छाया) का अनुसार पुस २५ गते पुरानो एयरपोर्टको चक्मेली बजारमा विहान ११ बजे भुवो खेल्ने कार्यक्रम रहेको छ । सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ लगायतका जिल्लामा धुमधामसँग मनाइने भूवा पर्व हरेक वर्ष पुस औंसीबाट शुरु हुन्छ ।

फाइल तस्बिर

सोही प्रचलनलाई जीवित राख्नका लागि बाजुरा पुर्खौली घर भएर हाल कैलालीमा बसोवास गरिरहेकाहरुले भुवो पर्व हरेक बर्ष मनाउँदै आएका छन् । धनगढीमा आयोजना हुने सो पर्वको तयारीका लािग चेतबहादुर थापाको संयोजकत्वमा छ सदस्यीय तयारी समिति गठन गरिएको छ । सो समितिमा तिलकबहादुर शाह, सुरेन्द्रबहादुर थापा, दयाराम पाध्याय, तुलाराम रोकाय र अर्जुन शाह रहेका छन् ।
पहाडी जिल्लामा भने औंसीकै दिन (शनिबार) देखि नै भुवो शुरु भएको छ । तरवार, ढाल नचाउँदै देउडा र मागल गीतका साथ भूवा पर्व खेल्ने गरिन्छ । सुदूरपश्चिमका मौलिक सांस्कृतिक चाडपर्वमध्ये भूवा पर्व पनि प्रमुख हो । भूवा पर्व परम्परागत ढंगले राको (साल) सल्काएर आरम्भ गरिने गरिन्छ । यो पर्व द्वापर युगमा कौरव र पाण्डवबीचको युद्धलाई स्मरण गरेर मनाइने गरेको लोकश्रुति छ ।
भूवा नाचमा सहभागी हुनेहरू (पुरुष) ले हातमा तरवार, खुकुरी तथा ढाल लिएर युद्ध कलाको प्रर्दशन गर्दछन् । यो पर्वको शुरुको दिन (औंसी) मा गाउँगाउँमा भूवाखाडा (भुवा नाच्ने चौर) मा मुढा बालेर राँको बोकेर भूवा नाचको सुरुवात गरिन्छ ।
बाजुराका बाह्रविस, ब्रह्मतोला, मार्तडी, रजातोली, कोल्टी, जुगाडा, आटिचौर लगायतका गाउँमा भूवा पर्व निकै धुमधामका साथ मनाइन्छ ।
भूवा पर्वको विशेष आर्कषण चाली नाच, ठाडो भस्सो, भारी खेल, चौभान, माँगल, लगायतका नाच रहने गरेका छन् ।
भुवा पर्व विशेषगरी वीरताको गाथा प्रदर्शनका रूपमा मनाइन्छ । भुवा नाचमा तरबार, खुकरी र ढाल बोकेका पुरुषहरू गोलबद्ध भएर दमाह, ढोलकको तालमा लयपूर्वक नाच प्रदर्शन गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार