१६ चैत्र २०८०, शुक्रबार

खप्तड गोल्डकपको तयारी पुरा



धनगढी । सुदुरपश्चिमको धनगढीमा मंगलबारदेखि सुरु हुने तेस्रो नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ । सोमबार खेलस्थल धनगढी रंगशालामा आयोजक सुदुरपश्चिम–११ स्पोर्ट्स क्लबले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

सम्मेलनमा बोल्दै आयोजक क्लबका अध्यक्ष सुरेश हमालले यस प्रतियोगिता आयोजक क्लबको मात्र नभएर समग्र सुदूरपश्चिमेली जनताको रहेको र यसलाई एक पर्वको रुपमा मनाइने अभिव्यक्ति दिए । ‘यो गोल्डकप हामी सबै सुदूरपश्चिमका जनताको हो । हामीले दशैं, माघीलगायत पर्व मनाएझैं यसलाई पनि एक पर्वको रुपमा लिनुपर्छ । सुदूरपश्चिमको फुटबलमा मात्र नभएर यस प्रतियोगिताले राष्ट्रव्यापी रुपमा नै हाम्रो फुटबललाई बेग्लै पहिचान दिएको छ,’ अध्यक्ष हमालले भने । हमालले प्रतियोगिताले पछिल्लो समय ठूलो स्वरुप लिंदै गएको र छोटो समयमै देशकै उत्कृष्ट प्रतियोगिताको रुपमा स्थापित गर्न सफल रहेको पनि बताए ।
पत्रकार सम्मेलनमा कैलाली खेलकुद विकास समितिका अध्यक्ष दिपक सिंहले खेलस्थल धनगढी रंगशालाको स्तरोन्नतिको कार्य अगाडी बढेको पनि जानकारी दिए । ‘खप्तड गोल्डकपक लागि हामी सबै सुदूरपश्चिमवासी एकसाथ बढ्नु जरुरि छ । हामीले संस्थागत र व्यक्तिगत रुपमा प्रतियोगितालाई भव्य बनाउन सक्दो प्रयास गरेका छौं,’ उनले थपे, ‘राखेपले रंगशाला स्तरोन्नतिका लागि टेन्डर प्रक्रिया सुरु गरिसकेको छ । केहि दिनमा टेन्डर प्रक्रिया सकिएपछि निर्माणको कार्य चाडैं सुरु हुने विश्वास लिएका छौं ।’

कुल १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार आयोजक टोली सुदूरपश्चिम(११ र मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टर भिड्नेछन् । उद्घाटन खेल २ः३० बजेसुरु हुनेछ । त्यसअघि मध्यान्ह १२ बजे चौराहाबाट झाँकीसहितको र्याली प्रतियोगिता स्थलसम्म पुगेर उद्घाटन समारोह सुरु हुने कार्यक्रम रहेको छ ।
मोफसलकै सर्वा्धिक धनराशीको प्रतियोगोता विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् । उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५(१५ हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ । प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।

यसअघि नै प्रतियोगिता संचालनका लागि आवश्यक उपसमितहरु गठन गरिएको छ । प्रायोजक उप समितिको संयोजक वावुराजा श्रेष्ठ, आर्थिक उपसमितीका संयोजक योगेन्द्र चन्द, टिकट उपसमितीका संयोजक धुव्र वराल, मिडिया संयोजक ओम चन्द, कार्यालय तथा सचिवलाय उप समितिका संयोजक देवेन्द्र जोशी र मैदान मर्मत उप समितीका संयोजक चक्र मल्ल रहेका छन् । होटेल व्यवस्थापन उपसमितीका संयोजक तेज खड्का, पार्किङ व्यवस्थापन उपसमितीका संयोजक खड्ग शाह र व्यानर व्यवस्थापन उपसमितीका संयोजक राजेश श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
प्रतियोगितामा दर्शकहरुले खेल अवलोकनका लागि टिकट दर तोकिएको छ । क्वाटरफाईनलसम्मको लागि एक सय र एक सय ५० तथा सेमिफाईनल र फाईनलका लागि एक सय ५० र दुई सय रुपैया तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार