१३ बैशाख २०८१, बिहीबार

स्वास्थ्य सेवाको क्षेत्रमा समस्या नै समस्या



धनगढी । राज्यको पुनर्संरचना भएसँगै सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा समस्या बढ्न थालेका छन् । स्वास्थ्य क्षेत्रको संरचनामा समेत परिवर्तन भएपछि स्वास्थ्य सेवा प्रवाह समेत प्रभावित हुन थालेको छ ।
स्वास्थ्य सेवा क्षेत्रको समग्र सूचकांक खस्किन थालेका छन् । अस्पताल र स्वास्थ्यकर्मी व्यवस्थापनमा समस्या बृद्धि भएको छ । पछिल्लो तथ्यांक अनुसार स्वास्थ्यकर्मीहरूको सरुवा र अस्पताल व्यवस्थापनमा आएको समस्याका कारण स्वास्थ्य क्षेत्रको सूचकांक घट्दो क्रममा रहेको छ । पछिल्लो तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशका सरकारी स्वास्थ्य संस्थाहरूमा विशेषज्ञ डाक्टरहरू आउन नमान्दा स्वास्थ्य सेवा प्रभावकारी रूपमा प्रवाह हुनसकिरहेको छैन । बाल मृत्युदर तथा मातृ मृत्युदर अपेक्षाकृत रूपमा घट्न सकेको छैन । विशेषज्ञ सेवाका लागि सेवाग्राहीले अन्य शहर वा भारतका अस्पताल धाउनु परेको अवस्था छ ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुदूरपश्चिममा अझै कम्तिमा दुई सय स्वास्थ्यकर्मी दरबन्दी रिक्त छ । प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले विश्व स्वास्थ संगठनको मापदण्ड पुरा गर्ने ढंगले काम गर्न सुदूरपश्चिम प्रदेशमा कम्तिमा पा“च सय जना स्वास्थ्यकर्मी भर्ना गर्नुपर्ने बताए । प्रदेश निर्देशक डाक्टर अवस्थीले भने– “विश्व स्वास्थ संगठनको मापदण्डमा पु¥याउन देशको स्रोतले नै नभ्याउने अवस्थामा न्यूनतम स्वास्थ्य सेवा प्रवाहका लागि पनि सुदूरपश्चिम प्रदेशका स्वास्थ्य संस्था (अस्पताल) मा चिकित्सकहरूको दरबन्दी नै अभाव छ ।”
नेपालमा हाल राष्ट्रिय रूपमा बाल मृत्युदर ३९ रहे पनि सुदूरपश्चिममा ६९ रहेको छ । सुदूरपश्चिमका ६६ प्रतिशत गर्भवतीले मात्रै स्वास्थ्य संस्थामा सुत्केरी सेवा पाएका छन् भने ८३ प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप पाइरहेका छन् ।
अस्पतालहरू विशेषज्ञ डाक्टर नहुनु, भएका डाक्टरहरूको सरुवा हुनु, पहाडी जिल्लाका स्वास्थ्य संस्थामा हेल्थ एसिस्टेन्ट र नर्स पनि बस्न नमान्नुले सुदूरपश्चिममा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको स्वास्थ्यकर्मीहरूको भनाई रहेको छ । प्रदेश स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले केही महिना पहिले नर्सहरूको सरुवा भएपछि स्वास्थ्यकर्मीविहिन भएका प्राथमिक स्वास्थ्य केन्द्रमा अझैं स्वास्थ्यकर्मी पठाउन नसकिएको बताए । उनले कतिपय स्वास्थ्य चौकीमा रहेका प्रसूति गृहको सेवा बन्द भएको बताए ।
स्वास्थ्यकर्मी नै नभएपछि सरकारी स्वास्थ्य संस्थाप्रति सेवाग्राहीहरूको विश्वास घट्न थालेको छ । जसले गर्दा सेवाग्राहीहरूले पनि निजी क्लिनिकमा जाने र जटिल समस्या भएमा भारत वा देशका ठूला शहरमा रहेका अस्पतालमा जाने क्रम बढेको छ ।
सुदूरपश्चिममा १३ वटा अस्पताल, १६ वटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन सय ७६ वटा स्वास्थ्य चौकी र एक सय आठ वटा स्वास्थ्य इकाईहरू छन् । तर, सबै स्वास्थ्य संस्थामा दरबन्दी अनुसारका चिकित्सक नरहेको निर्देशक अवस्थीले बताए ।
सुदूरपश्चिम प्रदेशको रिफरल अस्पतालको रूपमा रहेको सेती अञ्चल अस्पतालमा पनि मुटुरोग, नाक, कान घाँटी रोग, बालरोग, स्त्रीरोग तथा प्रसूति, फिजिसियन लगायतका ११ जना विशेषज्ञ चिकित्सकको दरबन्दी लामो समयदेखि रिक्त रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर हेमराज पाण्डेयले बताए । सेती अस्पतालमा २१ जना विशेषज्ञको दरबन्दी रहे पनि हाल १० जना विशेषज्ञले अस्पताल चलाउनुपर्ने बाध्यता रहेको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पाण्डेयले बताए । उनले स्टाफ नर्स, अनमी, हेल्थ एसिस्टेन्ट लगायत अन्य कर्मचारीको दरबन्दी पनि पुरा नभएको बताए ।
अस्पतालमा विशेषज्ञ नहुनुका साथै आवश्यक वार्ड, सामग्री, औषधि, उपकरण नभएकाले पनि स्वास्थ्य संस्थाका सेवाहरू प्रभावकारी नभएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । उनले बदलिएको परिस्थितिमा कुन स्वास्थ्य संस्थामा कति बेला कुन औषधि सकिदैछ, कति बेला कुन चिकित्सकको सरुवा कहाँ हुँदैछ ? भन्ने जानकारी राख्ने मेकानिज्म नबनिसकेकोले स्वास्थ्य सेवा प्रभावित भएको बताए ।
उनले स्वास्थ्य संस्था स्थानीय तहको मातहत रहने भएपछि पहिलेको मेकानिज्मले काम गर्न छोडेको र नयाँ नबनेकोले समस्या भएको बताए ।
नेपाल सरकारले देशका प्रत्येक स्थानीय तहमा एउटा अस्पताल र प्रत्येक वडामा कम्तिमा एउटा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्ने लक्ष्य लिएको बेला भएकै स्वास्थ्य संस्थाको सेवा प्रभावकारी हुन सकेको छैन । नेपाल सरकारले यसै वर्ष सुदूरपश्चिममा एक सय ७१ वटा स्वास्थ्य चौकीको अत्याधुनिक भवन बनाउन बजेट बिनियोजन गरेको छ । तर, स्थानीय तहहरूले त्यसका लागि जमीन उपलब्ध गराउन नसक्दा आधा आर्थिक वर्ष वित्दा पनि कुनै काम नभएको स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार