७ बैशाख २०८१, शुक्रबार

परशुराम धार्मिक, पर्यटन महोत्सव हुँदै



धनगढी । डडेल्धुराको परशुराम नगरपालिकामा रहेको परशुराम धाममा ‘परशुराम धार्मिक, पर्यटन महोत्सव, २०७५’ हुने भएको छ । परशुराम धार्मिक, पर्यटन महोत्सव मूल आयोजक समितिले शुक्रबार धनगढीमा आयोजना गरेको एक कार्यक्रममा आगामी ३० गतेदेखि माघ ८ गतेसम्म महोत्सव सञ्चालन हुने जानकारी दिइयो ।परशुराम धार्मिक, पर्यटन महोत्सव मूल आयोजक समिति संयोजक तथा परशुराम नगर प्रमुख भीमबहादुर साउँदले परशुराम धामको धार्मिक तथा पर्यटकीय महत्त्वको प्रचारप्रसार तथा प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको बताए । उनले भने– “चार धाममध्ये एक प्रमुख धामका रूपमा रहेको परशुराम क्षेत्रको पुरातात्त्विक धार्मिक महत्त्व तथा इतिहासबारे प्रचारप्रसार गरी प्रवद्र्धनमा टेवा पु¥याउन यो महोत्सव आयोजना गर्दैछौं ।”
कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले परशुराम धाम जस्ता पुरातात्त्विक तथा धार्मिक क्षेत्रको प्रवद्र्धन, विकास एवं प्रचारप्रसारका लागि यस्ता महोत्सवको निकै महत्त्व रहेको चर्चा गरे ।
कार्यक्रममा मुल आयोजक समितिका सदस्य नवराज नाथले कार्यक्रमको उद्देश्यबारे चर्चा गरेका थिए ।

परशुराम धाम
परशुराम नगरपालिकाको परशुराम तीर्थस्थलबारे प्रकाशित जानकारी पुस्तिका अनुसार डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ५ मा श्यामा (महाकाली) र एला (रंगुन) नदीको संगममा यो तीर्थस्थल रहेको छ । विभिन्न पुराणमा वर्णन गरिएअनुसार परशुराम धाममा भृगुवंशी महर्षि जगदग्नि र रेणुकाका पुत्र परशुरामले तपस्या गरेका थिए ।
एला र श्यामाको संगममा जगदग्नि पुत्र परशुरामको आश्रम रहेको स्कन्दपुराणमा उल्लेख छ । स्कन्दपुराण अनुसार हैयेय वंशी क्षेत्रियहरूले महर्षि जगदग्निको हत्या गरी कामधेनु गाई अपहरण गरेको तथा क्षेत्रिय राजाहरूको चरम आतंक तथा अत्याचार बढ्दै गएपछि परशुरामले २१ पटक पृथ्वीको परिक्रमा गरी पृथ्वीलाई क्षेत्रिय शासकबिहीन बनाएर गएपछि सरयुश्यामा नदीमा स्नान गरेका थिए । महाकालको जटाबाट निस्केकी मन्दाकिनी गंगा महाकाली नदीमा स्नान गर्दा गंगास्नानको बराबर पुण्य प्राप्त हुने र गंगाको तटमा रहेको परशुराम तीर्थमा स्नान, तर्पण गरेमा पितृ उद्दार तथा देवलोक प्राप्त हुने पनि पुराणमा वर्णित छ ।
डडेल्धुराको सदरमुकाम खलंगाबाट ९७ किलोमिटर तथा कञ्चनपुर सदरमुकामबाट ५० किलोमिटरको दुरीमा रहेको परशुराम धाम महाकाली नदीको दक्षिणतर्फ अवस्थित रहेको छ ।
परशुराम धाममा संगम, कुण्ड, विष्णुमन्दिर, चक्रतीर्थ, धर्मद्वार, वरपीपल, छत्रशीला, महालिंग, महाकाली नदी, एला, रेणुकालगायतका प्रमुख धार्मिक स्थलहरू रहेका छन् । परशुराम तीर्थमा स्नानको निकै ठूलो महत्त्व रहेको बताइन्छ । परशुराम धाममा मकर स्नान अर्थात् माघ स्नानको निकै ठूलो महत्त्व रहेको छ ।
परशुराम क्षेत्रमा वामघाट (वाङघाट), परशुराम घाट, देवघाट, परीकुण्ड, श्रीकुण्ड, सप्तहृद, एलाथीर्थ, परीतीर्थ, देउराहरू रहेका छन् । त्यस्तै, रेणुका मन्दिर, लिंगा, परशुराम मन्दिर, शिव मन्दिरलगायतका मन्दिर तथा संरचना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार