१३ बैशाख २०८१, बिहीबार

कैलालीमा नौ हजार बढी स्वास्थ्यबिमामा आबद्ध



धनगढी । कैलालीमा एक वर्षको अवधिमा नौ हजार बढी व्यक्ति सामाजिक स्वास्थ्य सुरक्षा विकास कार्यक्रम अन्तर्गत स्वास्थ्य बिमामा आबद्ध भएका छन् । गएको साल चैत २५ गतेदेखि पहिलो चरण अन्तर्गत नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रमको कैलाली जिल्लाबाट सुरुवात गरेको हो ।
सामाजिक स्वास्थ्य विकास समिति, धनगढीका अनुसार कैलालीमा यो अवधिमा एक हजार सात सय ८२ परिवारका नौ हजार दुई सय ७३ जना स्वास्थ्यबिमा कार्यक्रममा आबद्ध भएका छन् । स्थास्थ्यबिमा कार्यक्रममा सहभागी हुने महिलाको सङ्ख्या चार हजार आठ सय २७ जना रहेका समितिले जनाएको छ ।
स्वास्थ्यबिमा कार्यक्रममा आबद्ध भएकाहरूबाट गत फागुन महिनासम्म ४८ लाख ५७ हजार पाँच सय ४५ रुपैयाँ जम्मा भएको छ । स्वास्थ्यबिमाअन्तर्गत उनीहरूलाई स्वास्थ्य सेवा दिएवापत विभिन्न सेवा संस्थाहरूलाई १५ लाख १४ हजार चार सय २९ रुपैयाँ भुक्तानी गरेको समितिका धनगढी प्रबन्धक नरेश चौधरीले जानकारी दिए ।
सरकारले सबै नागरिकको स्वास्थ्यसेवामा सहज पहुँच पुर्‍याउन स्वास्थ्यबिमा कार्यक्रम लागू गरेको छ । आर्थिक अभावमा स्वास्थ्य सेवाबाट वञ्चित भएकाहरूलाई लाभ पुर्‍याउने र स्वास्थ्य उपचारमा आर्थिक भार घटाउने कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ ।
‘कैलाली जिल्लामा आठ लाखको हाराहारीमा जनसङ्ख्या रहेको छ’ स्वास्थ्य समितिका प्रबन्धक चौधरी भने– ‘जनसङ्ख्याको अनुपातमा स्वास्थ्यबिमा कार्यक्रममा अपेक्षाअनुसारको जनसहभागिता हुन सकेको छैन । ‘हामी कार्यक्रममा किन जनसहभागिता वृद्धि भएन भनेर समीक्षा गरिरहेका छौँ’ उनले थपे ।
सरकारले अतिविपन्न, विपन्न तथा मध्यम वर्गका परिवारलाई स्वास्थ्यसेवाको पहुँचमा ल्याउन कार्यक्रम लागू गरेको उनले बताए । प्रबन्धक चौधरीले गरिब घरपरिवार पहिचान कार्यक्रम मार्फत गरिबी निवारण तथा सहकारी मन्त्रालयले गरिबी परिचयपत्र उपलब्ध नगराएका कारण आर्थिक अभावका कारण स्वास्थ्योपचारमा कम पहुँच भएका वर्गलाई समेट्न समस्या भइरहेको बताए ।
सामाजिक स्वास्थ्यबीमा कार्यक्रम अन्तर्गत दुई सय ४४ प्रकारका औषधी समेटिएका छन् । त्यस्तै, २८ वटा रेफरल अस्पताल र मेडिकल कलेजहरू रहेका छन् ।
स्वास्थ्यबिमा कार्यक्रममा सहभागी हुन पाँच जनासम्मको घरपरिवारले जिल्लामा रहेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमा गएर दुई हजार पाँच सय रुपैयाँ र सोभन्दा बढी परिवार सदस्य भएमा थप चार सय २५ रुपैयाँ तिर्नुपर्ने प्रावधान रहेको छ ।
स्वास्थ्यबीमामा आबद्ध भएका व्यक्तिले बिमा कार्यक्रम अन्तर्गत एक वर्षसम्म नि:शुल्करूपमा ५० हजारदेखि एक लाख रुपैयाँसम्म नि:शुल्क उपचार हुने प्रबन्ध चौधरीले बताए ।
यस कार्यक्रमा सुदूरपश्चिम (हालको प्रदेश नम्बर ७) का कैलाली, अछाम र बैतडी तथा बाग्लुङ, इलाम, म्याग्दी, कास्की र पाल्पा जिल्लामा सञ्चालन भइसकेको छ । त्यस्तै निकट भविष्यमा थप १७ वटा जिल्लामा यो कार्यक्रम सञ्चालन हुने बताइएको छ ।

 

यो पनि पढ्नुहोस् :

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार