७ बैशाख २०८१, शुक्रबार

भन्सार नाकामा अनाहकमा रोकिन्छन्, एम्बुलेन्सहरू



धनगढी।गत बुधबार राति १२ बजेतिर म १ च नम्बरको एम्बुलेन्सलाई कैलाली भन्सार कार्यालय नजिकै सशस्त्र प्रहरी बलको टोलीले रोक्यो।एम्बुलेन्स चालक अविनाश मोरुका अनुसार उनी बिरामीलाई कञ्चनपुरको बेलौरी पु¥याएर फर्किने क्रममा सशस्त्र प्रहरी बलको टोलीले कैलाली भन्सार कार्यालय नजिक करिब दुई घण्टासम्म रोकेको थियो। गत १४ गते म १ च ४२७ नम्बरको पुनर्वास पोलिक्लिनिकको एम्बुलेन्सलाई पनि सशस्त्र प्रहरीले रोकेको थियो।एम्बुलेन्स चालक रामबचन रानाले भने– “धनगढीस्थित सेती अञ्चल अस्पतालमा विरामी पु¥याएर पुनर्वास फर्किदै थिए, भन्सार कार्यालय नजिक सशस्त्र प्रहरी क्याम्पले रोक्यो।”
कैलाली एम्बुलेन्स समितिका सचिव मदन ढुंगानाले पनि आफूलाई एक महिनाअघि सशस्त्र प्रहरी बलले भन्सार कार्यालय नजिक रोकेको गुनासो गरे।“म बिरामीलाई बेलौरी छोडेर धनगढी फर्किदै थिए, भन्सार कार्यालय नजिक पुगेपछि सशस्त्र प्रहरीले रोक्यो” एम्बुलेन्स समितिका सचिव ढुंगानाले भने– “अनाहकमा एम्बुलेन्स रोकपछि उहाँहरूसँग केही बेर भनाभन भयो, अनिमात्र फर्किन दिए।”उनका अनुसार भन्सार नाकामा बोल्न सक्नेको मात्रै चेकजाँच गरेर जान दिन्छन् भने बोल्न नसक्नेलाई धेरै समय रोकने गरिएको छ।
एम्बुलेन्स चालकहरूले सशस्त्र प्रहरी बलले भन्सार नाकामा एम्बुलेन्स रोक्ने गरेको गुनासो गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय, कैलालीले भने भन्सार नाकामा रातिको समयमा निजी सवारी साधनलाई आवतजावतमा रोक लगाइएको भए पनि एक्बुलेन्सहरूमाथि भने सो नियम लागू नहुने जनाएको छ।
सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद भट्टले एम्बुलेन्सलाई रातिको समयमा लामो समयसम्म रोकेर राख्ने काम नभएको. बताए । उनले भने– “शान्तिसुरक्षाको. दृष्टिकोणबाट मात्रै एम्बुलेन्सको पनि चेकजाँच गर्ने गरिएको छ।”
सशस्त्र प्रहरी नायब उपरीक्षक भट्टले एम्बुलेन्समा कुनै किसिमको अवैध सामान ओसारपसार हुन नपावस् भन्ने उद्देश्यले मात्रै नियमित चेकजाँच हुने गरेको बताए।
कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले भन्सार नाकामा निजी सवारी साधनहरूलाई रातिको समयमा रोक्ने गरेको भए पनि एम्बुलेन्सलाई सामान्य चेकजाँच गरेर जान दिने गरिएको बताए । उनले एम्बुलेन्सले विरामी बोक्ने भएकाले कुनै समय पनि रोक्ने काम नभएको बताए।
कैलाली एम्बुलेन्स समितिका अध्यक्ष लक्ष्मण सिंहले सशस्त्र प्रहरी चेक पोष्टका कारण एम्बुलेन्स चालकहरूले समस्या भोग्नु परेको गुनासो गरे।उनले भने– “भन्सार नाकामा एम्बुलेन्सको पनि चेकजाँच गर्नु राम्रो हो, तर चेकजाँचका नाममा दुई घण्टा बढी रोक्नु कसरी उचित मान्ने ?” उनले भन्सार नाकामा यस्तो कार्यमा सुधार नहुने हो भने बिरामीलाई सास्ती हुने बताए । उनले भने– “एम्बुलेन्सहरूलाई अनाहकमा सास्ती दिइने हो भने बिरामी बोक्न पनि पुनर्विचार गर्नुपर्ने हुनसक्छ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार