१५ चैत्र २०८०, बिहीबार

धनगढी प्रिमियर लिग–३ : अक्सनका लागि दुई सय बढीद्वारा नाम दर्ता



धनगढी । धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करण अन्तर्गत अक्सनका लागि दुई सय बढी क्रिकेटरले नाम दर्ता गराएका छन् ।
धनगढी क्रिकेट एकेडेमी (डिसिए) को आयोजनामा आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा डिपिएल–३ प्रतियोगिता सञ्चालन हुँदैछ । डिसिएद्वारा बुधबार प्रेषित जानकारीपत्र अनुसार प्रतियोगितामा खेल्न चाहने खेलाडीले अक्सनका लागि मंगलबारसम्म नाम दर्ता गर्ने समय निर्धारण गरिएकोमा दुई सय पाँच जना खेलाडीले नाम दर्ता गराएका छन् ।
एकेडेमीका अध्यक्ष सुवास शाहीद्वारा प्रेषित जानकारीपत्रमा नाम दर्ता गराएका सम्पूर्ण खेलाडीहरूको आगामी शनिबार काठमाडौंमा अक्सन (बोलकबोल) हुनेछ । अक्सन प्रक्रियाको एपी वान टेलिभिजनबाट प्रत्यक्ष प्रसाण समेत हुने जनाइएको छ ।
डिपिएलमा भाग लिने प्रत्येक टीमले एक ट्यालेन्ट हन्टबाट लिइएका र दुई विदेशी गरी १५ जना खेलाडीहरूलाई टोलीमा अनुबन्ध गर्नुपर्ने नियम बनाइएको छ । अक्सनका लागि खेलाडीको बोली न्यूनतम ३० हजार रुपैयाँदेखि दुई लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
यस पटकको डिपिएलमा १९ वटा खेल हुने र प्रतियोगिता टी–२० को आधारमा हुनेछ । लिग चरणमा प्रत्येक टिमले अरू टिमसँग एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।
देशकै सर्वाधिक ठूलो धनराशिको क्रिकेट प्रतियोगिताको रूपमा २०७३ र २०७४ सालमा डीपीएलको पहिलो र दोस्रो संस्करण गरिएको थियो । डीपीएल देशमै पहिलोपल्ट अक्सन गराउने प्रतियोगिता पनि हो ।
पहिलो संस्करणको डीपीएलको बजेट एक करोड ८२ लाख रुपैयाँ र कुल पुरस्कार राशि २८ लाख ५० रुपैया“ रहेको थियो । आयोजक डिसिएका अनुसार दोस्रो संस्करणमा तीन करोड रुपैयाँ खर्च भएको थियो भने प्रतियोगिताको विजेतालाई २५ लाख रुपैयाँसहित कुल ५० लाख रुपैयाँ पुस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार