१५ चैत्र २०८०, बिहीबार

कैलाली उद्योग वाणिज्य संघमा उम्मेदवारी पर्दै



धनगढी । कैलाली उद्योग वाणिज्य संघको निर्वाचनका लागि तीन वटा प्यानलले उम्मेदवारी दर्ता गराएका छन् ।
संघको वर्तमान कोषाध्यक्ष पुष्पराज कुँवर, महासचिव रूपेश स्वाँर र सचिव डिल्लीराज अवस्थीको प्यानलले उम्मेदवारी दर्ता गराएका हुन् ।अध्यक्षका उम्मेदवार कुँवरको वाणिज्य उपाध्यक्षमा गगन केसी, उद्योग उपाध्यक्षमा पुष्करराज ओझा, वस्तुगत उपाध्यक्षमा शिवराज कुँवर, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा दिनेश लम्साल र सचिवमा सिद्धराज पनेरुले उम्मेदवारी दिएका छन् ।
कुँवरको प्यानलबाट सदस्यमा तिलक चन्द्र खतिवडा, टोपवहादुर केसी, मनोज अग्रवाल, केशवराज जोशी, लक्ष्मणदत्त पन्त, मिलन कुँवर, शिवराज सापकोटा, सुरेन्द्रकुमार वोहोरा, गौतम महतो, राधिका चौधरी र महेन्द्र सिंहले उम्मेदवारी दिएका छन् ।
कुँवरको प्यानलले गत बैशाखमा हुने भनिएको चुनावमा घोषणा गरेको टीमलाई नै अगाडि सारेर उम्मेदवारी दिएको हो । त्यति बेलाका दुई जना सदस्य उपस्थित हुन नसक्ने भएपछि राधिका चौधरी र महेन्द्र सिंहलाई सदस्यमा उम्मेदवार बनाएको सविचका उम्मेदवार सिद्धराज पनेरूले बताए ।
अध्यक्षका उम्मेदवार कु“वरले व्यवसायीहरुको एकता, हकहित संरक्षण र सुदूरपश्चिमको विकास र आर्थिक समृद्धिको एजेण्डा लिएर आफ्नो टीम चुनावी मैदानमा आएको बताए । उनले आफूलाई गोपाल हमाल, दिनेश भण्डारी, कर्ण कुँवर लगायत पूर्वाध्यक्षहरु र व्यवसायीहरुको साथ रहेको हुनाले प्यानल सहितको जीत सुनिश्चित भइरहेको बताए । उनले सबै व्यवसायीहरुलाई समेतेर अगाडि बढ्ने र व्यवसायिक हितको लागि काम गर्ने आफ्नो प्रमुख एजेण्डा रहेको बताए ।
अध्यक्ष पदका अर्का उम्मेदवार स्वाँरको प्यानलबाट वाणिज्य उपाध्यक्षमा गजराज पाण्डेय, उपाध्यक्ष उद्योगमा टेकवहादुर खड्का, वस्तुगत उपाध्यक्षमा अनिलकुमार भुजानिया, महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा भीष्मराज ओझा र सचिवमा सुजित शर्मा उम्मेदवारी दिएका छन् । सदस्यमा तिलक वोहोरा, रूपेश खड्का, श्यामराज जोशी, शिव सोव, दुर्योधन स्वर्णकार, भरत थापा, सीता भट्टराई, बसन्त भट्ट, रवि कुँवर, नृपप्रसाद चौधरी र निरज वोहोरा उम्मेदवारी दिएका छन् ।
स्वाँर नेतृत्वको प्यानलले औद्योगिक क्षेत्रको स्थापना, विशेष आर्थिक क्षेत्र घोषणा र सञ्चालन, साना तथा मझौंला व्यावसायीहरूलाई करछुटको व्यवस्था तथा व्यवसायीहरूको भौतिक तथा पेसागत सुरक्षा प्रमुख प्रतिवद्धताका जनाएको छ । धनगढी, लम्की, भजनी, सुखड, अत्तरिया, जोशीपुर, बौनिया, चौमाला, मसुरिया, पहलमानपुर लगायतका बजारमा सिसिटिभी जडान, गौरीफन्टा सीमानाकाको स्तरन्नोति, धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा स्तरोन्नती, मोहना–अत्तरिया छ लेन सडकको निर्धारित समयमा निर्माण कार्य पूरा गर्नुपर्ने, हुलाकी राजमार्गको निर्माण कार्य पनि प्रमुख मुद्दाको रूपमा अगाडि सारेको छ ।
त्यसैगरी, अध्यक्षका उम्मेदवार अवस्थीको प्यानलबाट सचिवमा जयराज न्यौपानेले उम्मेदवारी दिने भएका छन् । सचिवका उम्मेदवार न्यौपानेले उम्मेदवारी दर्तापछि मात्रै सबै पदका उम्मेदवारहरुको नाम सार्वजनिक गर्ने बताए ।
निर्वाचन कार्यक्रमम अनुसार बुधबार साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय दिइएको छ । ५ बजेपछि उम्मेदवारको सूचि प्रकाशन गरी बिहीबार उम्मेदवारी माथि दावी विरोधको समय दिइने छ । शुक्रबार उम्मेदवारी फिर्ता लिने समय दिइने छ भने शनिबार साँझ ५ बजे उम्मेदवारको अन्तिम सूचि प्रकाशन गरिने छ ।
पुस २८ गते विहान ८ बजेदेखि साँझ ४ बजेसम्म मतदान गर्न गरिने संघको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले सकेसम्म मतदान लगत्तै मतगरणा पनि शुरु गरिने छ ।
फर्जि सदस्यता छानविनपछि संघको सदस्य दुई हजार सात सय २५ जना कायम भएको छ । तिनै सदस्यहरुले मात्रै मतदान गर्न पाउने छन् ।

सम्बन्धित समाचार

कैलाली उवासंघको आसन्न निर्वाचन : रुपेश स्वाँर नेतृत्वको प्यानल घोषणा

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार