१६ चैत्र २०८०, शुक्रबार

बृहत सांस्कृतिक कार्यक्रम



डोटी । डोटीको जोरायल गाउँपालिका बाँजिलेकमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ ।
मगर संग्रहालय स्थापना गर्नका लागि सो कार्यक्रम आयोजना गरिन लागेको सो गाउँपालिका वडा नम्बर ४ का स्थानीय तथा सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य महेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार ‘मगर भाषा, संस्कृति संरक्षण–संवद्र्धन मगरहरूको मूल मन्त्र, मगरात पहिचान र स्वायत्व शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने मूल नाराका साथ नेपाल मगर संघ सुदूरपश्चिम प्रदेशले सो सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।
कार्यक्रमबाट मगर जातिहरूको लोप हुँदै गएको भाषा, भेषभुषा, खाद्य परिकार, संस्कृतिको संरक्षण–संवद्धन र मगर संग्राहालय स्थापनाबाट पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताइएको छ । जोरायल गाउँपालिकाको मूख्य प्रायोजन तथा मालिका कन्स्ट्रक्शन एण्ड सप्लायर्स प्रालि, जोरायल गाउँपालिका वडा नम्बर २ र वडा नम्बर ४ को सह–प्रायोजनमा आगामी माघ १ र २ गते उक्त कार्यक्रम आयोजना हुने भएको छ ।
कार्यक्रमको व्यवस्थापनको जिम्मा जोरायल गाउँपालिका स्तरीय नेपाल मगर संघलाई दिइएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । कार्यक्रममा डोटी, अछाम, कैलाली, डडेल्धुरा र कञ्चनपुरका मगर समुदायका कलाकारहरू र राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने जनाइएको छ ।
जोरायलको बाँजिलेकमै स्थापना हुने मगर संग्राहालयका लागि जोरायल गाउँपालिकासँगै सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक सहयोग प्रदान गर्ने नेपाल मगर संघले जनाएको छ । भाषाका हिसाबले सुदूरपश्चिम प्रदेशमा काइके, खाम र मगर गरी तीन प्रकारका मगर जाती छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार